मिरिक नयाँ कमानको सडक चाँडो निर्माण गरिनुपर्ने गाउँलेहरूको माग

मिरिक: मिरिक बस्तीदेखि मरमा चियाबारीको नयाँ कमानलाई जोड्ने सडक विगत दुई वर्षअघि नै शिलान्यास गरे तापनि हालसम्म सडक निर्माण कार्य पूर्ण नभएको स्थानीयहरूले गुनासो पोखेका छन्। लगभग 2 करोड 73 लाख रुपियाँको लागतमा निर्माण हुने उक्त सडक निर्माण कार्य शुरू भए तापनि हालसम्म अधुरो रहेको तिनीहरूले बताए। स्थानीय मानिसहरूले आज उक्त सडक चाँडो निर्माण गरिनुपर्ने माग गरेका छन्। स्थानीय निमु शेर्पाले बताएअनुसार उक्त सडक भएर गाउँलेहरू बजार, अस्पताल, विद्यार्थीहरू विद्यालय आउने-जाने गरेकोले सडकको अवस्था जीर्ण रहेकोले तिनीहरूलाई निक्कै समस्या भइरहेको छ। उक्त सडक निर्माण गर्ने क्रममा एउटा गोलाईमा ठुलो पैह्रो गएपछि अझ धेरै समस्या भएकोले यस वर्षको बर्खायाममा ठुलो दुर्घटना हुनसक्ने सम्भावना रहेको तिनले बताइन्। यसैगरी, स्थानीय प्रणाम तामाङले भने, सडकको अवस्था बेहाल रहेकोले नयाँ कमानवासीलाई धेरै समस्या भइरहेको छ। क्षेत्रीय सभासद मिलेश राईलाई धेरैपल्ट यसबारे अवगत गराए तापनि हालसम्म आश्वासन मात्र पाइरहेको तिनले बताए। जीर्ण सडकको कारण नयाँ कमानवासीलाई कति समस्या भइरहेको छ भन्ने कुरो सभासद मिलेश राईलाई थाहा हुँदा हुँदै पनि एफसीओ नलागेको कारण सडक निर्माण नभएको बताउँछन्। सडक निर्माण नभए प्राकृतिक आपदाको चपेटमा ग्रामवासी पर्ने सम्भावना रहेको तिनी बताउँछन्। यति मात्र नभएर विद्यार्थीहरूलाई विद्यालय जानको लागि अझ पनि मिरिक बस्तीसम्म पैदल जानु पर्ने बाध्यता रहेको छ। यसको साथै बिरामीहरूलाई अस्पताल पुर्‍याउनको लागि अझ पनि बाँसको अस्थायी स्ट्रेचरमा बोक्नु पर्ने अवस्था रहेको छ। तिनले सम्पूर्ण ग्रामवासीको पक्षबाट यथा शीघ्र उक्त सडक निर्माण गरिनुपर्ने सभासद राई समक्ष माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *