मिरिक पुलिस थानाद्वारा रक्तदान शिविरको आयोजना

मिरिक: मिरिक पुलिस थानाको आयोजनामा आज रक्तदान शिविरको आयोजना गरियो। उक्त रक्तदान शिविरमा मिरिक महकुमा शासक सुदिप्त देवनाथ, मिरिकका एसडीपीओ रूद्धनाथ साव, मिरिक थाना प्रभारी सुदीप कुमार विश्वास लगायत विभिन्न संघ-संस्थान, राजनैतिक दलका प्रतिनिधिहरू, पुलिस कर्मीहरू, पत्रकारहरू आदिले रक्तदान गरे। सिस्टर एण्ड ब्रद्रर्स इस्लामपुरको सहयोगमा गरिएको उक्त रक्तदान शिविरमा संग्रह गरिएको सबै रगत उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाइने मिरिक थाना प्रभारी सुदीप कुमार विश्वासले बताए। तिनले तिहारको अवसरमा मिरिक थानाले भव्य काली पुजाको आयोजना गर्ने निधो गरेको जसको थालनी रक्तदान शिविरबाट गरिएको जानकारी गराए।


तिनले पुलिस अनि जनता माझ राम्रो सम्बन्ध कायम राख्ने अनि आवश्यक रोगीहरूलाई रगत उपलब्ध गराउँने उद्देश्यले रक्तदान शिविरको आयोजना गरिएको जानकारी गराँउदै रक्तदान सबै दानहरूमध्ये क्षेष्ठ दान रहेको कारण आज रक्तदान गर्ने सबैप्रति आभार प्रकट गरे। तिनले मिरिक पुलिसले कालीपूजा धुमधामले पालन गर्ने जानकारी गराउँदै आगामी 4 नोभेम्बरको दिन काली पुजा साथै भजन-कीर्तन अनि ड्रग्स विरूद्ध सचेतना कार्यक्रम पनि गरिने बताए। तिनले मिरिकवासीलाई तिहारको शुभकामना दिँदै सबैलाई शान्तिपूर्ण तिहारपर्व पालन गर्ने अनि पटेकाहरूको प्रयोग नगरिदिने अनुरोध पनि गरे। कार्यक्रमलाई मिरिक महकुमा शासक सुदीप्त देवनाथ,एसडीपीओ रूद्धनाथ साव,मिरिक खण्ड विकास अधिकारी विप्लव कुमार रोय, मिरिक नगरपालिका अध्यक्ष एलबी राई आदिले सम्बोधन गर्दै रक्तदान महान दान रहेको बताए। तिनीहरूले रक्तदान गर्ने सबैप्रति आभार प्रकट गर्दै रक्तदानले कसैको ज्यान बाँच्न सक्छ भनि बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *