मिरिक सियोकमा गोरामुमो-को सांगठनिक सभा

मिरिक : गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको आज एउटा संयुक्त साङ्गठनिक सभा सियोक छब्बिसेमा सम्पन्न भयो। भस्मे शाखा र छब्बिसे पारमेन शाखाको संयुक्त सभामा समष्टि उप-सभापति केबी घिसिङ अनि मिरिक ब्राञ्च कमिटी सभापति महेन्द्र खड्गाको उपस्थितिमा सभा सम्पन्न गरियो। दुवै शाखाको संयुक्त रूपमा भएको सभामा शाखा पदाधिकारीहरूको उपस्थिति रहेको थियो। पार्टीको मुद्दा सही भएकोले गोर्खा जातिको उन्मुक्तिप्रति पार्टी प्रतिबद्ध रहेको अवगत गराइयो। केन्द्रीय अध्यक्ष मन घिसिङको हात बलियो बनाउन पर्छ भन्दै सियोक चियाबारी चिफ जीवन प्रधानले गोर्खाको राष्ट्रिय राजनैतिक चिन्हारी सुनिश्चित गर्न स्थायी राजनैतिक समाधान हेतु हरियो झण्डालाई सशक्त बनाउन जरुरी रहेको बताए। सभामा ब्राञ्च सभापति महेन्द्र खड्गाले पहाड, तराई, डुवर्सको जनमानसको दिर्घकालीन समस्या समाधान हुने र गठबन्धित दल मात्र होइन रहेको अन्य राजनैतिक दल, अराजनैतिक संघ-संस्थाहरूले पनि भावी पिढीको हितमा साथ दिनु जरुरी रहेको बताउँदै एकत्रित भएर अनुशासित ढङ्गले अघि आई दिने अनुरोध गरे। पार्टीलाई सक्रिय र सबल बनाउने आग्रह गर्दै तिनले सबै निःस्वार्थ भएर आ-आफ्नो न्यानो सल्लाह राखिदिने अनुरोध गरे। समष्टि उपसभापति केबी घिसिङले साङ्गठनिक गतिविधिमाथि जोड दिँदै समष्टिले शाखाहरूलाई पथ प्रदर्शकको रूपमा साथ दिने वचन दिए। सभामा आगामी दिनहरुमा पनि शाखा प्रशाखाहरूसङ्ग सोझै सम्पर्क अभियान समष्टि टोलीसँग हुने अनि ब्राञ्च कमिटी टोलीले सहयोग गर्ने ब्राञ्च सदस्य रूचन राईले जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *