मोर्चा बिमल खेमाद्वारा सिब्सुमा बलिदान दिवस पालन

सिब्सु: नगरकट्टा अवस्थित सिब्सु बलिदान पाकर्मा आज बिमल गुरुङ खेमाका समर्थकहरुले दसौं बलिदान दिवस पालन गरे। पार्टी अध्यक्ष विमल गुरुङले आज आफ्नो सम्बोधनमा भाजापाको खोइरो खन्दै जय श्री रामको नारालाई लिएर प्रश्न उठाए। सरकार चलाउने दलले जाति अनि धर्मलाई लिएर भाजापाले राजनीतिक गरिरहेको गुरुङले गम्भीर आरोप लगाए। उनले भने आफुलाई हिन्दु भन्नु पनि अहिले लाज घिन लाग्न थालिसकेको छ भनी बताए। यसको साथै तिनले गोजमुमो विनय खेमाको नाम उल्लेख नगरी तिनको दलको पनि निन्दा गर्दै पार्टी बचाउनको लागि गाउँ-घरतिर चौकी, कराई, डेक्ची जस्ता सामान्य सामानहरू वितरण गरिरहेको आरोप लगाए। आगामी विधान सभा चुनाउमा तृणमूलसित मिलेर आसनहरू साझा गरिने तिनले बताए। तिनले भने, मेरो तारगेट दार्जिलिङ पहाड मात्र हैन, नर्थ बंगाललाई लिएर छ। हामी सबै आसनहरूमा मुख्य फेक्टर हुनेछौ। आजको बलिदान दिवस कार्यक्रममा मोर्चा महासचिव रोशन गिरी, केन्द्रीय कार्यकारी अध्यक्ष डा. लोपसांग लामा, आरपी वाईबा, अवकाशप्राप्त कर्नल रमेश आले, नैनीता गौतम, शुभ प्रधान लगायत तृणमूल कङ्ग्रेसका नगरकट्टा ब्लक सभापति मनोज मुण्डा, जलपाईगढी जिल्ला कर्माध्यक्ष गणेश उराव लगायत नगरकट्टा खण्ड क्षेत्रका तृणमूल कार्यकर्ताहरू पनि उपस्थित थिए। यसबाहेक, कार्यक्रममा पहाड, डुवर्स, तराई क्षेत्रबाट मोर्चा समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो। सिब्सुस्थित शहीद वेदीमा मोर्चा अध्यक्ष बिमल गुरूङले आज कार्यक्रमको शुरूमा फुल-माला चढाएर शहीदहरूलाई नमन गर्दै श्रद्धाञ्जलि अर्पण गरे। उल्लेखनीय रहोस, वाम शासनकालको समय विगत 8 फरवरी 2011 सालमा गोर्खाल्याण्ड आन्दोलनको समय तीनजना मोर्चा समर्थकहरू विमला राई, विकी लामा र निकिता खवास पुलिसको गोली लागेर शहीद भएका थिए। त्यसपछि नै मोर्चाले सिब्सुमा प्रत्येक वर्ष बलिदान दिवस पालन गर्दै आइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *