मृतक रोगीको परिवारद्वारा सिलगढीको एउटा नर्सिङ होमविरुद्ध सीएमओएच-लाई अभियोग दर्ता

सिलगढी : कोरोना महामारीको समयमा हाल सिलगढीको केही नर्सिङ होमहरूमा कोरोना संक्रमितहरूको उपचारको लागि लाखौँ रुपियाँ ठग्ने गरेको परिवारका सदस्यहरूको आरोप रहेको छ। यसको साथै नर्सिङ होमको बील तिर्न नसकेको खण्डमा रोगी लगायत परिवारका सदस्यहरूलाई धम्की समेत दिइने गरेको तिनीहरूको भनाइ रहेको छ। सिलगढीको कावाखालीस्थित एउटा नर्सिङ होमविरुद्ध पनि यस प्रकारको अभियोग उठेको छ। मृतक परिवारका सदस्यहरूहरूले आज जिल्ला मुख्य स्वास्थ्य अधिकारीसित भेट गरेर उक्त नर्सिङ होम कर्तृपक्षविरुद्ध अभियोग दर्ता गरेको छ। प्राप्त जानकारीअनुसार सिलगढीको 10 नम्बर वार्डको महाकालपल्ली निवासी देवजानी राय गत 8 मईको दिन निमोनिया भएर सिलगढीको कावाखालीस्थित एउटा नर्सिङ होममा भर्ना भएकी थिइन् भने उपचाराधीन अवस्थामै गत 5 जुनमा तिनको मृत्यु भएको बताइएको छ। तिनको उपचारको बिल 9 लाख रुपियाँ भएको साथै सबै रुपियाँ भुक्तान गरेपछि मात्र मृतदेह परिवारका सदस्यहरूलाई सुम्पिने नर्सिङ होम कर्तृपक्षले बताएपछि मृतकको परिवारका सदस्यहरूले 3 लाख रुपियाँ नर्सिङ होममा जम्मा गरे। यसपछि नर्सिङ होम कर्तृपक्षले तिनीहरूलाई दुईवटा ब्ल्याङ चेक र बोन्डको माग गरे। मृतकको परिवारका सदस्य तुहिन राय र स्नेहासिस रायको आरोपअनुसार नर्सिङ होम कर्तृपक्षले बारम्बार फोन गरेर बकाया राशि भुक्तान गर्नेबारे चाप दिइरहेको साथै बकाया राशि भुक्तान नगरेको खण्डमा कानुनअनुसार पदक्षेप ग्रहण गर्ने धम्की समेत दिएको बताइएको छ। यसपछि परिवारका सदस्यहरूले सिलगढी महकुमा परिषदको मुख्य स्वास्थ्य अधिकारीसित भेट गरेर एउटा लिखित अभियोग दर्ता गरेपछि मुख्य स्वास्थ्य अधिकारीले यसबारे जाँच गर्ने आश्वासन दिएका छन्। यसको साथै नगरनिगमका प्रशासक गौतम देवलाई यसबारे जनाएपछि तिनले घटनाको तीव्र निन्दा गर्दै घटनाको जाँच गरेपछि आवश्यक कार्वाही गरिने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *