सिलगढी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आगामी सप्ताह सिलगढी तथा दार्जिलिङ भ्रमणमा आउने भएको छ भने तिनको सिलगढीमा सम्पन्न हुने पूर्व निर्धारित सरकारी कार्यक्रम स्थल परिवर्तन गरिएको छ। यसभन्दा अघि सिलगढीको कञ्चनजङ्घा स्टेडियममा सरकारी कार्यक्रम गरिने भएको थियो भने विभिन्न कारणले गर्दा कार्यक्रमको स्थान परिवर्तन गरेर अब कावाखालीमा उक्त कार्यक्रम गरिने भएको छ। जामको समस्या लगायत विविध समस्यालाई ध्यानमा राखेर पुलिस प्रशासनले सिलगढीको कञ्चनजङ्घा स्टेडियमको बद्ली कावाखालीमा उक्त कार्यक्रम गर्ने निर्णय लिएको बताइएको छ। यसैले पुलिस कमिश्नर गौरव शर्मा, जलपाईगढी जिल्लाशासक मौमिता गोदारा बसु, सिलगढी महकुमा प्रशासक श्रीनिवास भेङ्कटराव पटेल लगायत अन्य शीर्ष अधिकारीहरूले आज कावाखालीस्थित कार्यक्रम स्थलको निरीक्षण गरे।