मुख्यमन्त्री ममता ब्यानर्जी भोलि पाँच दिने भ्रमणमा उत्तर बंगाल आउने

सिलगढी : राज्य सत्तामा तेस्रोपल्ट फर्किआएपछि पहिलोपल्ट राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी भोलिदेखि 5 दिनको भ्रमणमा उत्तर बङ्गाल आउने भएकी छन्। भोलि आइतबार तिनी कोलकाता विमानअड्डाबाट विशेष चार्टर विमानमार्फत् बाघडुग्रा विमानअड्डा आइपुगेपछि त्यहाँबाट सोझै उत्तरकन्या जाने भएकी छन्। पाँच दिनको भ्रमण अवधि मुख्यमन्त्रीले उत्तर बंगालका धेरैवटा जिल्लाका अधिकारीहरूसित प्रशासनिक बैठक गर्नेछन् भने केही नयाँ परियोजनाहरूको पनि उद्घाटन गर्ने बताइएको छ। यसको साथै उत्तरकन्या संलग्न फुलबारीको द्वारे सरकार शिविरको पनि तिनले निरीक्षण गर्नसक्ने प्रशासनिक सूत्रमार्फत् थाहा लागेको छ। मुख्यमन्त्रीको उत्तर बंगाल भ्रमणलाई लिएर प्रशासनिक तयारी पनि युद्धस्तरमा चलिरहेको छ भने तिनको आगमनलाई लिएर कठोर सुरक्षा व्यवस्था अप्नाइएको छ। उत्तर बंगाल भ्रमणको पहिलो दिन 6 सेप्टेम्बरको दिन तिनले दार्जिलिङ, कालेबुङ र अलिपुरद्वार जिल्लाका प्रशासनिक अधिकारीहरूसित बैठक गर्ने कार्यक्रम रहेको छ। यसपछि आगामी 7 र 8 सेप्टेम्बरको दिन जलपाईगढी र कुचबिहार जिल्लाका प्रशासनिक अधिकारीहरूसित एउटा बैठक गर्ने भएकी छन्। मुख्यमन्त्रीको भ्रमणलाई लिएर चार्टर विमानको पनि व्यवस्था गरिएको छ भने यसलाई बाघडुग्रा हवाई अड्डामा राखिने बताइएको छ। आवश्यक परेको खण्डमा तिनले चार्टर विमान मार्फत् उत्तर बंगालका केही ठाउँहरूको पनि परिभ्रमण गर्नेछन्। यसपछि आगामी 9 सेप्टेम्बरको दिन तिनी कोलकाता फर्किने कार्यक्रम रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *