मुख्यमन्त्री ममता ब्यानर्जीको भोलिदेखि उत्तर बंगाल भ्रमण शुरू, मंगलवार खरसाङमा मुख्यमन्त्रीसित प्रशासनिक बैठक

सिलगढी: मुख्यमन्त्री ममता ब्यानर्जी भोलि आइतबार उत्तर बंगालको परिभ्रमणमा आइपुग्ने भएकी छन्। यसैले मुख्यमन्त्रीको भ्रममणलाई लिएर प्रशासनिक तयारी शुरू गरिएको छ। सिलगढी मेट्रोपोलिटन पुलिसले मुख्यमन्त्रीको परिभ्रमण अवधि सुरक्षाको तयारीलाई लिएर कुनै कसर बाँकी राख्न नचाहेकोले उत्तरकन्या सहित सिलगढीमा सुरक्षा व्यवस्था कठोर गरिएको छ। पुलिस कमिश्नर गौरव शर्मा आफैले सम्पूर्ण सुरक्षा व्यवस्थामाथि गिद्धे नजर राखिरहेका छन्। पुलिसका शीर्ष अधिकारीहरूलाई कठोर निगरानी गर्ने जिम्मेवारी सुम्पिइएको छ। यसैबीच, मुख्यमन्त्रीको भ्रमणलाई लिएर फुलबारीको हेलीपेडलाई नयाँ रूप दिइरहेको छ। डीसीपी जय टुडू साथै एसीपी सुभेन्द्र कुमार हेलीपेड समेत छेउछाउको इलाकाको सुरक्षा बारे छानबिन गर्न आइपुगेका थिए। तेस्रोपल्ट मुख्यमन्त्री बनेपछि ममता ब्यानर्जीको यो पहिलो उत्तर बङ्गालको भ्रमण हुनेछ। प्राप्त जानकारी अनुसार भोली मुख्यमन्त्री बाघडुग्रा विमान अड्डामा ओर्लिएपछि सोझै बाघाजतिन पार्क जाने भएकी छन्, जहाँ तिनले सिलगढी पुलिसको विजया सम्मेलनमा अंश ग्रहण गर्ने छन्। यसपछि तिनले सोमबार उत्तरकन्यामा प्रशासनिक बैठक गर्ने छन्। यसपछि मंगलवार मुख्यमन्त्रीले खरसाङमा पुगेर प्रशासनिक बैठक गर्नेछिन्। यसको साथै मुख्यमन्त्रीले पहाडको विभिन्न ठाउँहरूमा गएको पैह्रो क्षेत्रहरूको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ। तथापि मुख्यमन्त्री यसपल्टको पहाड भ्रमण अवधि दार्जिलिङ नजाने भएकी छन्। मुख्यमन्त्रीको खरसाङ भ्रमणलाई लिएर पहाडमा राजनैतिक माहौल केही गर्मिएको देखिन्छ। सम्भवत: जीटीएको चुनाउलाई लिएर प्रशासनिक बैठकमा चर्चा हुन सक्ने अड्कल लगाइएको छ। यसवाहेक, दार्जिलङ र कालेबुङ जिल्लामा धेरै वर्ष अघिदेखि पञ्चायत चुनाउ नभएकोले मानिसहरूलाई धेरै असुविधा भइरहेकोले गर्दा पञ्चायत चुनाउलाई लिएर पनि बैठकमा चर्चा हुनसक्ने आशंका गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *