मुख्यमन्त्री ममताले गरिन् उत्तरबङ्ग उत्सवको उद्घाटन

सिलगढी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज सिलगढीको शिवमन्दिरस्थित अठारोखाई मैदानमा आयोजित कार्यक्रममा उत्तरबंग उत्सवको विधिवत् उद्घाटन गरिन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले सीएए अनि एनआरसी-को विरोधमा पुनः आज पनि आफ्नो दावी कायम रहेको साथै यसको विरोधमा आफू लागिपर्ने बताइन्। तिनले एनआरसी अनि सीएए-को विरोधमा खोइरो खनिन्। यसै कार्यक्रमबीच मुख्यमन्त्री ममताले पहाड अनि समतल क्षेत्रका एक-एकजना व्यक्तिलाई बङ्गरत्न पुरस्कारद्वारा सम्मानित गरिन्। तिनीहरूलाई शल लगाइदिएर प्रशस्ति पत्र प्रदान गरियो। यसै मञ्चबाट मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढी जर्नलिस्ट क्लबको नयाँ भवन उत्तरिया-को पनि उद्घाटन गरिन्। तिनले सिलगढी जर्नलिस्ट क्लबका सबै सदस्यहरूलगायत पदाधिकारीगणलाई यसको निम्ति हार्दिक बधाई पनि दिइन्। यस वर्षको उत्तरबंग उत्सव यहाँको उत्तरबङ्ग विश्व विद्यालयमा आयोजना गर्ने सोँच रहेको भए तापनि कतिपय कारणवश सो पुरा हुननसेको जानकारी दिँदै मुख्यमन्त्रीले त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई नयाँ वर्षको शुभकामना दिए। उक्त कार्यक्रमपछि कठोर सुरक्षा व्यवस्थाबीच सडक मार्ग हुँदै मुख्यमन्त्री ममता ब्यानर्जी दार्जिलिङको लागि प्रस्थान भइन्। यस अवसरमा राज्यका पर्यटनमन्त्री गौतम देव, मन्त्री अरूप विश्वास, विरोधी दल नेता रञ्जन सरकार, जीटीए चेयरम्यान अनित थापा, गोजमुमो अध्यक्ष विनय तामाङलगायत अन्य पार्टीका शीर्ष नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *