नाबालिकासित दुष्कर्म गर्ने आरोपीलाई पक्राउ गरिनुपर्ने माग गर्दै भाजपा-द्वारा पथ अवरोध

गजलडोबा नाबालिकासित दुष्कर्म गर्ने आरोपीलाई पक्राउ गरिनुपर्ने माग गर्दै आज भाजपाले पथ अवरोध गर्यो। राजगञ्ज उत्तर मण्डलको भाजपा युवा मोर्चाको तर्फबाट आज राजगञ्ज ब्लकको गजलडोबा संलग्न टाकिमारीमा सडक अवरोध गरियो। पीडित 12 वर्षीय नाबालिका छैटौँ श्रेणीकी छात्रा हुन्। तिनको आमा छैनन्, तिनी बाजेको घरमा बस्दै आइरहेकी छन्। गत 10 दिसम्बर साँझ उक्त नाबालिका साथीको घरबाट फर्किरहेको समय बाटोमा छिमेकी वृद्ध कार्तिक रायले तिनलाई प्रलोभन देखाएर खुल्ला ठाउँमा लगेर दुष्कर्म गर्ने प्रयास गरेको आरोप रहेको छ। त्यस समय नाबालिकाको चित्कार सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगेपछि आरोपी वृद्धले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। यसपछि नाबालिकाको परिवारका सदस्यहरूले भोरेर आलो थानामा घटनाबारे लिखित अभियोग दर्ता गरे तापनि हालसम्म आरोपी वृद्धलाई पुलिसले पक्राउ गर्न सकेको छैन। यसैले आज भाजपा युवा मोर्चाका सदस्यहरूले आरोपीलाई पक्राउ गरिनुपर्ने माग गर्दै टाकीमारीमा सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरेको हो।  भाजपा नेता देवाशीष दे-ले बताएअनुसार आरोपी वृद्ध कार्तिक राय स्थानीय तृणमूल नेताका बाबु हुन्। दुष्कर्म जस्तो जघन्य अपराधका आरोपीलाई पुलिसले हालसम्म पक्राउ गर्न सकेको छैन। यसैले आज बाध्य भएर आफूहरूले आरोपीलाई पक्राउ गरिनुपर्ने माग गर्दै सडक अवरोध गरेका हौँ। आरोपीलाई पक्राउ गरेर कठोर सजाय दिनुपर्छ। पार्टीका अन्य नेताहरूले यहीँ माग गरेका छन्। अर्कोतिर, पथ अवरोध गरेको खबर पाएपछि भोरेर आलो थानाका ओसी सन्दीप दत्त लगायत पुलिस वाहिनी घटनास्थलमा पुगेर आरोपीलाई पक्राउ गरिने आश्वासन दिएपछि प्रदर्शनकारीहरूले पथ अवरोध हटाए। तथापि, घटनाको आरोपीलाई चाँडै पक्राउ नगरेको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने भाजपाले चेताउनी दिएको छ। यस विषयमा युवा तृणमूलका राजगञ्ज ब्लकका अध्यक्ष तुषार कान्ति दत्तले भने, घटनाबारे जाँच गर्नेछु। यस विषयमा कुनै राजनीतिक मुद्दा छैन। यदि उक्त वृद्ध साँच्चै दोषी हुन् भने कानुन अनुसार पदक्षेप ग्रहण गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *