नाबालिकासित दुष्कर्म गर्ने व्यक्तिलाई पक्राउ गर्नुपर्ने मागमा भाजपा महिला मोर्चाद्वारा विरोध प्रदर्शन

सिलगढी : 15 वर्षीय नाबालिकासित दुष्कर्म गर्ने व्यक्तिलाई पक्राउ गर्नुपर्ने मागमा आज सिलगढी सांगठनिक महिला मोर्चाका सदस्यहरूले प्रधान नगर थानाअघि विरोध प्रदर्शन गरे। यसको साथै महिला मोर्चाका सदस्यहरूले प्रधान नगर थानाका आईसीसित भेट गरेर एउटा ज्ञापन पत्र पनि चढाए। सिलगढी सांगठनिक महिला मोर्चाकी अध्यक्ष शिखा मोईत्रोले बताएअनुसार राज्यमा महिला सुरक्षा नामको लागि मात्र रहेको छ। सिलगढीको सालबारी निवासी 35 वर्षीय एकजना व्यक्तिले उक्त इलाकाको एउटी नाबालिकालाई अपहरण गरेपछि लगातार पाँच दिनसम्म तिनीसित दुष्कर्म गरेको आरोप रहेको छ। घटनाबारे थानामा अभियोग दर्ता गरे तापनि हालसम्म कुनै कार्वाही गरेको छैन। हाल घटनाको आरोपी खुल्लै घुमिरहेका छन्। यसैले चाँडै नै आरोपी व्यक्तिलाई पक्राउ गर्नुपर्ने माग गर्दै आज सिलगढी सांगठनिक महिला मोर्चाका सदस्यहरूले प्रधान नगर थानाअघि विरोध प्रदर्शन गर्नको साथै प्रधान नगर थानाका आईसीसित भेट गरेर एउटा ज्ञापन पत्र पनि चढाए। आगामी 5 दिनको अवधिमा आरोपीलाई पक्राउ नगरेको खण्डमा भाजपा महिला मोर्चाद्वारा फेरि विरोध प्रदर्शन गर्ने तिनले चेताउनी दिएकी छन्। स्मरण रहोस्, गत मार्च महिनामा सालबारी निवासी 15 वर्षीय एउटी नाबालिका माध्यमिक परीक्षा दिन घरबाट निस्केपछि तिनी लगभग 5 दिनपछि घर फर्किआइन्। घर फर्किआएपछि उक्त नाबालिकाले आफूसित जोर जबरजस्ती दुष्कर्म गरेकोबारे परिवारका सदस्यहरूलाई बताइन्। यसपछि परिवारका सदस्यहरूले गत 11 मार्चमा प्रधाननगर थानामा आरोपी व्यक्तिविरुद्ध अभियोग दर्ता गरेका थिए। तथापि, पुलिसले हालसम्म आरोपी व्यक्तिलाई पक्राउ नगरेपछि पुलिसको भूमिकालाई लिएर मानिसहरूले प्रश्न चिन्ह खडा गरेका छन्। सिलगढी सांगठनिक महिला मोर्चाका सदस्यहरूले आज उक्त घटनाको विरोध जनाउँदै प्रधाननगर थाना अघि विक्षोभ प्रदर्शन गर्नको साथै एउटा ज्ञापन पत्र पनि चढाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *