नगद रुपियाँ लिएर ब्याङ्क गइरहेको समय व्यक्ति अपहरण, 3 जना पक्राउ

सिलगढी : नगद रुपियाँ लिएर ब्याङ्क गइरहेको समय एकजना व्यक्तिलाई अपहरण गरेको घटनामा पुलिसले 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले आशिस विश्वास, श्यामल राय र सञ्जय मोदक सामेल छन्। प्राप्त जानकारीअनुसार रेडियन्ट क्यास म्यानेजमेन्ट सर्भिसमा कार्यरत परितोष राय प्रतिदिन झैँ हिजो विभिन्न कम्पनीबाट 11 लाख 5 हजार रुपियाँ संग्रह गरेर ब्याङ्कमा जम्मा गर्नको लागि फुलबारीबाट सिलगढीतर्फ आइरहेको समय कामराङ्गागढी इलाकामा केही दुष्कृतिहरूले तिनलाई अपहरण गरेको बताइएको छ। यसपछि परितोष रायका सालो तरुण रायले यसबारे एनजेपी थानामा अभियोग दर्ता गरे। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले मालबजारको क्रान्तिबाट बेहोश अवस्थामा परितोष रायलाई उद्धार गरेको छ। यसको साथै पुलिसले घटनाका 3 जना आरोपीलाई राजगञ्जबाट पक्राउ गरेको बताइएको छ। पक्रा परेका 3 जना आरोपीलाई आज अदालतमा पेश गरेर 7 दिनको हिरासतमा राख्ने अदालतसमक्ष पुलिसले आवेदन जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *