नागरिक सभामा तृणमूल पार्षद्हरूलाई आमन्त्रित नगरिएको रञ्जन सरकारको आरोप

सिलगढी : सिलगढी नगरनिगमको पहलमा हिजो दीनबन्धु मञ्चमा आयोजित गरिएको नागरिक सभामा साधारण मानिसहरूलाई आफ्नो विचार राख्ने अवसर नदिएको साथै सभामा तृणमूल काउन्सिलरहरूलाई आमन्त्रित नगरिएको दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस सभापति रञ्जन सरकारले आरोप लगाएका छन्। तिनले आज दार्जिलिङ जिल्ला कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर वाम परिचालित नगरनिगमप्रति क्षोभ प्रकट गरे। यो एउटा राजनैतिक सभा भए तापनि वामफ्रन्टले झुटो बोल्दै साधारण मानिसहरूलाई उक्त सभामा लगेको साथै सीपीएम, कांग्रेस र भाजपा एक भएर बङ्गालमा अशान्ति फैलाउने प्रयास गरिरहेको तिनले आरोप लगाउँदै यसको तीव्र प्रतिवाद जनाए। यसको साथै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढी नगरनिगमको विकासको लागि करोडौँ रुपियाँ आवन्टित गरे तापनि सिलगढी सहरलगायत यसको वरिपरिका क्षेत्रहरूमा सटीक विकास कार्य नभएकोमा मेयर अशोक भट्टाचार्यलाई तिनले यसको जिम्मेवार ठहराए। भाजपाको भ्रातृ संगठन आरएसएसलाई पनि माकपाले आफ्नो पक्षमा ल्याउनको लागि विभिन्न ठाउँहरूमा रुपियाँ खर्च गरिरहेको पनि तिनले गम्भीर आरोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *