नगराकट्टामा वाहन पल्टिँदा दुईजना घाइते

नगराकट्टा : नगराकट्टा ब्लकस्थित ग्रासमोड चियाकमानको नन्दु मोड़ नजिक राष्ट्रिय राजमार्ग 31-मा तीव्र गतिमा आइरहेको एउटा वाहनको टायर विस्फोट भएपछि अनियन्त्रित भएर पल्टिँदा दुईजना व्यक्ति घाइते भएका छन्। घाइते व्यक्तिहरूलाई नगरकट्टा पुलिस एवम् स्थानीय मानिसहरूको सहयोगमा सुलकापाडा अस्पतालमा प्राथमिक उपचारको लागि पठाएको छ। स्थानीय मानिसहरूले दिएको जानकारी अनुसार एउटा वाहन तीव्र गतिमा वीरपाड़ादेखि बाघडुग्रातर्फ गइरहेको समय अचानक वाहनको टायर विस्फोट भएपछि अनियन्त्रित भएर उक्त वाहन सड़क किनारमा रहेको एउटा खाल्डोमा पल्टिँदा दुईजना व्यक्ति घाइते भएको बताइएको छ। दुर्घटनाको समय वाहनमा चारजना व्यक्ति सवार रहेका थिए। पुलिसले दुर्घटनाग्रस्त उक्त वाहनलाई आफ्नो नियन्त्रणमा लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *