नगरनिगम चुनाउका विजयी प्रार्थीहरूलाई सांसद राजु विष्टको हार्दिक बधाई

दार्जिलिङ : दार्जिलिङका सांसद राजु विष्टले सिलगढी नगरनिगम चुनाउमा जीत हासिल गर्ने सबै प्रार्थीहरूलाई बधाई दिएका छन्। यसको साथै तिनले भाजपाका सबै कार्यकर्ता, उम्मेद्वारहरू, नेतागण तथा सिलगढीका भाजपाको पक्षमा मतदान गर्ने मतदाताहरूलाई विशेष धन्यवाद दिएका छन्। सिलगढी नगरनिगम चुनाउमा यसपल्ट भाजपाले 24 प्रतिशत मतदान पाएर दोस्रो सबैभन्दा अधिक जित्ने दल बन्न पुगेको छ। यसभन्दा अघि 2015-मा भएको सिलगढी नगरनिगम चुनाउमा भाजपाले 2 वटा आसनमा मात्र जित्न सफल भएको थियो भने यसपल्ट भाजपा नेतृत्वहरूको प्रयासले साथै सिलगढी नगरनिगमका बासिन्दाहरूको सहयोगले गर्दा जित्ने प्रार्थीहरूको सङ्ख्या बढेर 5 पुगेको भाजपाका प्रवक्ता तथा दार्जिलिङका सांसद राजु विष्टले एउटा प्रेस विज्ञप्ति जारी गरेर जानकारी गराएका छन्। नगरनिगम चुनाउमा भाजपाले बोर्ड गठन गर्न नसके तापनि सिलगढी मानिसहरूले भाजपालाई यहाँको उन्नति र विकासको निम्ति ल्याउन चाहेको स्पष्ट देखिन्छ भनी तिनले बताएका छन्। जनताको मेनडेटलाई स्वागत जनाउँदै  विजयी प्रार्थीहरूले सिलगढी सहर अनि यहाँका मानिसहरूको निम्ति निष्ठापूर्वक कार्य गर्ने कुरामा आफू विश्वस्त रहेको तिनले बताएका छन्। चुनाउ जितेर सिलगढी सहरको विकासको निम्ति तृणमूल कङ्ग्रेसको काँधमा ठुलो भार आइपुगेको छ भन्दै अब यसको लागि अन्य कुनै पनि दललाई आरोप लगाउन नसक्ने तिनले बताए। सिलगढी नगरनिगम बोर्डमा भाजपाले सबैको सहयोगमा विपक्षीको प्रमुख भूमिका निर्वाह गर्ने तिनले जनतालाई आश्वासन दिएका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *