नकली कोरोना रिपोर्ट बनाउने गरेको आरोपमा एकजना पक्राउ

सिलगढी : हाल कोरोना महामारीसित मानिसहरू जुझिरहेका छन् भने यस्तो परिस्थितिमा नकली कोरोना रिपोर्ट बनाएर केही मानिसहरू रुपियाँ कमाइरहेका छन्। यस प्रकारको मामिला अघि आएपछि सिलगढीका मानिसहरू चिन्तित बन्न पुगेका छन्। सिलगढी सहरको घर-घरमा गएर नमुना संग्रह गरेर नकली कोरोना रिपोर्ट बनाउने मामिला फेरि अघि आएपछि जाँचमा जुटेको मतिगढा थाना अन्तर्गत उत्तरबंग मेडिकल चौकी पुलिसले सैकत दे नाम गरेको एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति सिलगढीको एउटा नर्सिङ होममा काम गर्दछन् भने तिनले सहरको विभिन्न ठाउँहरूमा गएर कोरोना टेस्टको लागि नमुना संग्रह गरेर नकली रिपोर्ट दिने गरेको आरोप रहेको छ। उक्त व्यक्तिले रुपियाँको प्रलोभलनले गर्दा नमुना लिने गरे तापनि जाँच नगरी मानिसहरूलाई नकली रिपोर्ट दिने गरेको बताइएको छ। केही दिन अघि एकजना युवकले आरोपी व्यक्तिकोमा तिनको बाबुको कोरोना टेस्ट गराएका थिए भने रिपोर्ट पाएपछि युवकले एसआरएफ आईडीमा सर्च गर्दा उक्त रिपोर्ट अन्य व्यक्तिको रहेको थाहा पाए। यसपछि तिनले यस सम्बन्धमा थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले सैकत दे लाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिसित पुलिसले सोधखोज गर्दा उक्त मामिला अन्य व्यक्तिहरू पनि सामेल रहेको थाहा पाए। आरोपी व्यक्तिले अन्य 7-8 जनाको नकली रिपोर्ट बनाएको स्वीकार गरेका छन्। आरोपी व्यक्तिलाई आज अदालतमा पेश गरेपछि पुलिस रिमान्डमा पठाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *