नकली नियुक्ति पत्र लिएर मेडिकल आएका बाबु-छोरा सहित 4 जना पक्राउ

सिलगढी : नकली नियुक्ति पत्र लिएर नोकरी गर्न आएका बाबु-छोरा लगायत उक्त मामिलामा संलग्न रहेको अन्य 2 जनालाई पुलिसले पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार आज नकली नियुक्ति पत्र लिएर बाबु-छोरा उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका अध्यक्षकहाँ जाँदा उक्त नियुक्ति पत्र नकली रहेको तिनले थाहा पाए। यसपछि अध्यक्षले बाबु शम्भु दत्त र छोरा शुभङ्कर दत्तलाई रोकेर राखेपछि यस घटनाबारे मतिगढा थाना पुलिसलाई खबर दिए। पुलिस घटनास्थलमा पुगेर ती दुई बाबु-छोरालाई पक्राउ गरेर तिनीहरूसित सोधखोज गरेपछि करणदिघीबाट सञ्जय सरकार नाम गरेको अझ एकजना व्यक्तिलाई पक्राउ गरेको छ। यसपछि पुलिसले सञ्जयसित सोधखोज गरेर सिलगढीको बाघडुग्राबाट बाब्लु राय नाम गरेको अन्य एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका 4 जनालाई आज सिलगढी अदालतमा पेश गरियो। शम्भु दत्त र शुभङ्कर दत्तले बताएअनुसार नोकरी लगाइदिनको लागि लगभग 6 लाख रुपियाँको माग गरेको थियो। उत्तरबंग मेडिकल कलेजमा ग्रुप डी-मा नोकरी लगाइदिने भनेर आफूहरूबाट लाख रुपियाँ लिइसकेको थियो। पुलिसले आरोपी बाब्लु रायको अझै एकजना साथीको खोजी गरिरहेको छ भने उक्त घटनामा अन्य व्यक्तिहरू संलग्न रहेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *