नर्बुजी लामाको पक्षमा मिरिक तृणमूलले गोजमुमोसित संयुक्त रूपमा चुनाउ प्रचार गर्ने

मिरिक: हिल तृणमूल कङ्ग्रेसको केन्द्रीय समितिले गोजमुमो बिमल खेमाका प्रार्थीहरूलाई विधानसभा चुनाउमा पहाडको तीन आसनमा सघाउनेबारे लिएको निर्णयलाई तृणमूल मिरिक ब्लक समितिले स्वागत जनाएको छ। गोजमुमो बिमल खेमा मिरिक महकुमा समितिका पदाधिकारीहरूसित आज तृणमूल मिरिक ब्लक समितिका नेता तथा कार्यकर्ताहरूले एउटा महत्वपूर्ण बैठक गरेर दार्जिलिङ आसनका गोजमुमो बिमल खेमाका प्रार्थी नर्बुजी लामाको पक्षमा चुनाउ प्रचार गर्ने निर्णय लिएको छ। यसको साथै बैठक अवधि आज चुनाउलाई लिएर व्यापक चर्चा परिचर्चा गर्नको साथै एउटा खण्ड चुनाउ कमिटी पनि गठन गरेको बताइएको छ। यसवाहेक प्रार्थी नर्बुजी लामालाई अधिक मतले विजय गराउनको लागि अब दुवै पार्टीका नेतृत्वहरूले संयुक्त रूपमा चुनाउ प्रचार जोडतोडले गर्ने बारेमा पनि बैठकमा निर्णय लिइएको छ। बैठकपछि हिल तृणमूल कङ्ग्रेस मिरिक खण्ड अध्यक्ष अनिल छेत्रीले यसबारे जानकारी दिएका छन्। आजको बैठकमा दुवै पक्षका प्रतिनिधिहरूले एक-अर्कालाई सकारात्मक सोंच र फराकिलो विचार लिएर प्रचार अभियान चलाउने निर्णय लिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *