नरबुङ चियाबारीको वाहन दुर्घटनामा मर्नेहरूका परिवारसित भेट गरे अनित थापाले

खरसाङ : खरसाङको नरबुङ चियाबारीमा भएको वाहन दुर्घटनामा ज्यान गुमाएका चारजनाको परिवारलाई भेट्न आज जीटीए चेयरम्यान अनित थापा लगायत दार्जिलिङ जिल्लाका जिल्लाधिकारी एस पन्नमवलम र जिल्ला पुलिस अधिकारी सन्तोष निम्बलकार नरबुङ पुगेका थिए। गत 18 अक्टोबरको साँझ नरबुङ चियाबारीमा पिकअप वाहन दुर्घटनामा परेर दुईजनाको घटनास्थलमै निधन भएको थियो भने केही दिनपछि पुन: दुईजना गरी मोठ चारजनाको निधन भएको थियो। ती चारैजना मृतकका परिवारहरूलाई भेट्न आज जीटीए चेयरम्यान, जिल्ला शासक र जिल्ला पुलिस अधिकारी अपरान्ह्र नरबुङ चियाबारी पुगेका थिए। तिनीहरूले चारैजना मृतकका घरमा गएर परिवारका सदस्यलाई समवेदना प्रकट गर्दै सान्त्वना दिएका छन्। मृतकका परिवारलाई जीटीए चेयरम्यान अनित थापाको पक्षबाट आर्थिक सहयोग गरेको तथा चारैजना मृतकहरूको बडी इन्सुरेन्सको लागि पहल गरिदिने भएको छ। त्यसरी नै दुर्घटनामा ज्यान गुमाउने सुरज थापाको आमा मनकला थापा घरमा एक्लै भएकोले तिनलाई केही व्यवस्था गरिदिने भएको छ। त्यसरी नै दुर्घटनामा घाइते भएर उपचाराधीन अवस्थामा रहेकाहरूलाई पनि सहयोग गर्ने भएका छन्। जीटीए चेयरम्यानको यस भ्रमणको समय खरसाङ महकुमा अधिकारी आईएएस अभिषेक चौरासिया, गोजमुमो तीनधारे महानदी समष्टिका सभापति रबीन सुब्बा, कार्यकारी सभापति सीबी राई, युवा मोर्चाको खरसाङ महकुमा समितिका सांगठनिक सचिव अमीर प्रधान, तीनधारे महानदी समष्टिका संयोजक प्रकाश थापा लगायत अन्यहरू उपस्थित थिए। नरबुङ दुर्घटनामा परेर ज्यान गुमाउनेहरूमा डिपल थापा, सुरज थापा, अश्विन तामाङ र सुरेन सुब्बा सामेल छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *