नक्सलबारीको सुन दोकानमा अनौठो चोरीको घटना, सीसीटीभी-मा सुनको आभूषण मुखमा हालिरहेको देखिन्छन् एउटी महिला

सिलगढी : नक्सलबारी इलाकाको एउटा सुन दोकानमा अनौठो चोरीको घटना प्रकाशमा आएको छ। उक्त चोरीको घटनाले सम्पूर्ण नक्सलबारी इलाकाको ठूल्ठूला सुनका दोकान मालिकहरूको समेत होश उडाइदिएको छ। उक्त सम्पूर्ण घटना सीसीटीभी क्यामेरामा कैद भएको छ। सीसीटीभीमा कैद फुटेज अनुसार एउटी महिलाले दोकानमा सुनका गर-गहनाहरू किन्ने बहनामा आभूषणहरू हेरिरहेका छन् भने दोकानदारले तिनलाई नाकमा लगाउने सुनको गहना देखाइरहेका छन्। त्यसपछि अचानक उक्त महिलाले दोकानेको आँखा छलेर क्षणभरमैं नाकमा लगाउने सुनको फुली मुखभित्र हालिन्। तर यस अवधि दोकानेले केही थाहा पाएनन्। त्यसपछि उक्त महिला आरामसित दोकानबाट जान्छन्। केही समय पछि दोकानेले नाकमा लगाउने दुईवटा सुनको आभूषण हराएको थाहा पाएपछि तिनले सीसीटीभी-मा खोतलेर हेर्दा तिनको होश उड्छ। सीसीटीभी फुटेजमा दोकानमा आभूषण हेरिरहेकी उक्त महिलाले दुईपल्ट मुखमा केही हालेकी स्पष्ट देखिन्छ, जुन दोकानबाट हराएको नाकमा लगाउने सुनका आभूषण थियो। यसपछि दोकानेले उक्त महिलालाई खोजी गर्न शुरू गरे तापनि त्यस समयसम्म महिला अज्ञात ठाउँमा गइसकेकी हुन्छिन्। महिलाको पत्तो नलागेपछि दोकानेले नक्सलबारी थाना पुलिसलाई यसबारे जानकारी दिएको छ। हालसम्म नक्सलबारी पुलिसले सीसीटीभी फुटेजलाई प्रमाणको रूपमा राखेर छानबिन शुरू गरेको छ। समाचार लेखुञ्जेलसम्म चोर महिला फेला नपरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *