नक्सलबारीमा हात्तीको हमलामा कृषकको मृत्यु

नक्सलबारी: नक्सलबारीको हात्तीघिसा अन्तर्गत पर्ने मङ्गलसिंह गाउँमा धानको खेती बचाउन जाँदा हात्तीको हमलामा एकजना कृषकको मृत्यु भएको छ। मृतक कृषक नकुल सिंहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार हिजो राति इलाकाको जमिनमा लगाइएको धानको खेतीको नजरदारी गरिरहेको समय एउटा हात्तीको दल इलाकामा पस्दा इलाकाका धेरैजना मानिसहरूले मिलेर उक्त हात्तीको दललाई जङ्गलतिर लखेटे। यसपछि फेरि हात्तीको दल धान खेतीमा पसेपछि ती हात्तीहरूलाई जङ्गलतिर लखेट्ने प्रयास गर्दा हात्तीको हमलामा परेर नकुल सिंहको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर नक्सलबारी विन विभागका कर्मचारीहरू घटनास्थलमा पुगेर हात्तीको दललाई जङ्गलतिर लखेट्नको साथै मृतदेह उद्धार गरेर नक्सलबारी अस्पतालमा पठाए। नक्सलबारी पञ्चायत समितिका पूर्व सभापति माधव सरकारले बताएअनुसार प्रत्येक दिन इलाकामा हात्ती पसेर धान खेती नष्ट भइरहेको साथै हात्तीको ताण्डवबाट धान बचाउनको लागि कृषकहरू लागिपरेका छन्। यस्तै परिस्थिति रहे कृषकहरूले आत्महत्या गर्न तथा खेतीपाती गर्न छोडेर काम गर्नको लागि अन्य राज्यमा जान बाहेक कुनै विकल्प नरहेको तिनले दुखेसो पोखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *