नक्सलबारीमा सडक किनारमा रहेको अवैध बजारहरू बन्द गर्ने मागमा व्यवसायीहरूद्वारा विक्षोभ

नक्सलबारी : प्रशासनको निर्देशलाई पर्वाह नगरी सडकमाथि अवैध रूपमा लगाइएको बजारहरू बन्द गरिनुपर्ने माग गर्दै आज नक्सलबारी ब्लकको रानीडाङ्गा नेताजी मिनी मार्केट व्यवसायी समितिका सदस्यहरू सडकमा ओर्लिएर विक्षोभ प्रदर्शन गरे। प्राप्त जानकारीअनुसार कोरोना महामारीले गर्दा पुलिस प्रशासनले रानीडाङ्गा पैकारी (थोक) सब्जी बजार त्यहाँबाट हटाएर कालाराम हाई स्कुल मैदानमा सारिदिएको थियो। तर वर्षाको समयमा उक्त बजारमा पानी जमेर हिड्न असुविधा हुने गरेकोले पुनः राष्ट्रिय राजमार्ग नजिक बजार थाप्न थालेको छ। कोरोना परिस्थितिमा फेरि पुलिस प्रशासनको पक्षबाट अस्थायी बजार त्यहाँबाट सार्ने निर्देश दिए तापनि हालसम्म उक्त बजार नहटाएकोले क्षुब्ध भएर आज रानीडाङ्गा नेताजी मिनी मार्केट व्यवसायी समितिका सदस्यहरू सडकमा ओर्लिएको बताइएको छ। समितिका सदस्यहरूले आज राष्ट्रिय राजमार्ग अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। घटनाको खबर पाएर फाँसीदेवा थानाको विशाल पुलिस वाहिनी तथा बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगे। यसको साथै फाँसीदेवा तथा नक्सलबारी ब्लकका बीडीओ र प्रशासनका अधिकारीहरू घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *