काठमाडौ/जाजरकोट : पश्चिम नेपालको जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार मध्यराति गएको भूकम्पमा परेर जाजरकोटमा 100 अनि रुकुम पश्चिममा 38 जना गरेर अहिलेसम्म 138 जनाले प्राण गुमाएको बताइएको छ भने लगभग 1 सय 40 जना घाइते भएका छन् । यसको साथै भूकम्पले धेरैजनाको घरहरू क्षतिग्रस्त पारिदिएको छ। जिल्ला पुलिस कार्यालय जाजरकोटका प्रमुख डीएसपी सन्तोश रोकाले दिएको जानकारी अनुसार जाजरकोटमा मात्र अहिलेसम्म लगभग 100 जनाको ज्यान गएको पुष्टि भएको छ। ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका 30, नलगाड नगरपालिकाका 6, कुशे गउँपालिकाका 7 र छेडागाड नगरपालिकाका 1 जना लगायत अन्य सामेल रहेको छ । यसको साथै भूकम्पमा परी जाजरकोटमा 55 जना घाइते भएको बताइएको छ । घाइतेहरूमध्ये 5 जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने अन्यको उपचार जिल्ला अस्पताल तथा अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ । यसैगरी, जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको थाहा लागेको छ । जिल्ला पुलिस प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म 38 जनाको मृत्यु भइसकेको छ । रुकुम पश्चिममा भूकम्पमा परेर 85 जना घाइते भएका छन् । यसमध्ये 9 जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको जनाइएको छ । पुलिस तथा प्रशासनको सक्रियतामा घाइतेहरूको उद्धारलगायत अन्य काम भइरहेको दुवै जिल्लाका पुलिस प्रमुखहरूले बताएका छन् । भूकम्पको कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो गरेर अवरुद्ध छ । यसकारण पनि उद्धारमा केही ढिलाइ भएको तर घाइतेहरूको उद्धार कार्य चलिरहेको र सडक खुलाउने प्रयास भइरहेको जानकारी प्राप्त भएको छ। भूकम्पको झट्का भारत अनि चीनका केही ठाउँमा पनि महसुस गरियो।
