सिलगढी : नेपाली इसाई चलचित्र ‘यथार्थ‘-को सिलगढीमा प्रिमियर शो सम्पन्न भयो। निर्माता दिपक सोलोमन राईद्वारा निर्माण गरिएको उक्त नेपाली इसाई चलचित्र यथार्थको पटकथा, संवाद पनि तिनकै रहेको छ। नायक अतित सुब्बा, नायिका बिपना थापा, आरजे समीर छेत्री, मिना थापा, पा. सुरेन खवास आदिको मुख्य अभिनय रहेको नेपाली इसाई चलचित्र ‘यथार्थ‘-लाई सिरकुमार साम्पाङले निर्देशन गरेका छन्। यस फिल्मको छाँयाकन भारतको कालेबुङका विभिन्न स्थानहरू र नेपालको केही स्थानहरूमा गरिएको छ। फिल्ममा गीत सङ्गीत दिपक सोलोमन राई, अतित सुब्बा, एन्जिला मोक्तान, जुही बसुमतरी, पास्टर सुनाम काबो आदिको रहेको छ।

यस इसाई नेपाली फिल्म यथार्थ-को निर्माण 2019 मै गरिएको भए तापनि कोरोनाको कारणले यसलाई उक्त समयमा प्रदर्शन गर्न सकेको थिएन। गत केही केही समयदेखि उक्त फिल्मको विभिन्न स्थानहरूमा प्रिमियर शो गर्दै आइरहेको छ भने सिलगढीको मतिगढामा अवस्थित लिभिङ वड सेन्टरमा पनि प्रिमियर शो सम्पन्न गरियो। उक्त प्रिमियर शो-मा फिल्मका कलाकारहरू बिपना थापा, समीर छेत्री, पास्टर सुरेन खवास लगायत निर्माता दिपक सोलोमन राई आदिको उपस्थिति रहेको थियो। फिल्मको प्रिमियर हुन अघि सानो कार्यक्रम सम्पन्न भयो। जसलाई सङ्गीतकार सामुएल सामुले सञ्चालन गरेका थिए। नेपाली इसाई चलचित्र यथार्थ विषयमा निर्माता दिपक सोलोमन राईले दर्शकहरूलाई जानकारी गराएका थिए। फिल्म हेरेपछि दर्शकहरूले आ-आफ्नो प्रतिक्रियाहरू दिए।
