नेपालमा 20 नोभेम्बर चुनाउ: भारत-नेपाल सिमाना 3 दिनको लागि सिल

पानीट्याङ्की (निसं): नेपालमा आउँदो 20 नोभेम्बरको दिन चुनाउ सम्पन्न हुने भएकोले गर्दा यसको ठीक अघि 72 घण्टाको लागि भारत-नेपाल सिमाना सील गरिदिएको छ। शान्तिपूर्ण ढङ्गले चुनाउ सुनिश्चित गराउने उद्देश्यले उक्त सिमाना सिल गरिएको बताइएको छ। नेपाल-भारत सिमानास्थित पानीट्याङ्कीमा आज नेपालका सम्बन्धित एकजना अधिकारीले बताए अनुसार गत राति 17 नोभेम्बरदेखि आउँदो 20 नोभेम्बरको राति ठीक 12 बजेसम्म भारतसित जोडिएको नेपालका सबै सिमाना सिल गरिएको छ। 20 नोभेम्बरको दिन चुनाउ सम्पन्न भएपछि अबेर राति 12 बजेदेखि दुवै देशका मानिसहरूलाई आवत्-जावत् गर्न पुन: सिमाना खोलिइने छ। विशेष गरेर आजदेखि सिमाना बन्द भएपछि नेपालमा आँखा जाँच गराउनको लागि आएका मानिसहरूले धेरै असुविधाको सामना गर्न परेको देखियो। सिमाना बन्द भएपछि आज असमका लगभग 20 जना मानिसहरू पानीट्याङ्कीमा नै फँसेका छन्। यस वाहेक, सिमाना बन्द भएकोले गर्दा व्यवसायीहरूले पनि नोक्सान खप्न परिरहेका छन्।  यस सम्बन्धमा पानीट्याङ्की व्यवसायी समितिका संयुक्त सचिव दीपक चक्रवर्तीले भने, यस सिमानाबाट दिनहुँ लगभग 2 करोडको व्यवसाय हुने गर्दछ। नेपालमा चुनाउले गर्दा आगामी तीन दिनको लागि सिमाना बन्द भएकोले व्यवसाय ठप्प बनेको छ। यसको साथै भारत-नेपाल सिमाना पानीट्याङ्कीमा टोटो, अटो अनि ट्याक्सीको चलाचल पनि आजदेखि तीन दिनको लागि बन्द रहने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *