नेताजी जयन्तीको अवसरमा भाजपा-ले सिलगढीमा निकाल्यो शोभायात्रा

सिलगढी : दार्जिलिङ जिल्ला भाजपाको तर्फबाट आज नेताजी सुभाष चन्द्र बोसको 125औँ जन्म जयन्ती पालन गरियो। भाजपा दार्जिलिङ जिल्लाका सांसद राजु विष्टले आज पार्टी कार्यालयमा राष्ट्रिय झण्डा उत्तोलन गर्नको साथै नेताजीको तस्विरमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। यसको साथै भाजपाको तर्फबाट एउटा रङ्गारङ शोभायात्रा पनि निकालिइयो। सांसद राजु विष्ट घोड़ामा सवार भएर उक्त शोभायात्रामा सामेल भएका थिए।



उक्त शोभायात्रा सिलगढीको हाशमी चौकदेखि शुरू गरेर यहाँको विभिन्न मार्गहरूको परिक्रमा गरेपछि अन्तमा हात्तीमोड़ स्थित नेताजीको सालिगअघि पुगेर समापन गरियो। यसपछि त्यहाँ सांसद राजु विष्ट लगायत अन्य कार्यकर्ताहरूले नेताजीको सालिगमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा भाजपा सिलगढी सांगठनिक जिल्ला अध्यक्ष प्रवीण अग्रवाललगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *