निर्दिष्ट समयभन्दा अगावै स्कुल छुट्टी, सिलगढीमा अभिभावकहरूद्वारा विक्षोभ

सिलगढी : निर्दिष्ट समयभन्दा अगावै स्कुल छुट्टी दिएको अभियोग लगाउँदै आज अभिभावकहरूले विक्षोभ प्रदर्शन गरे। प्राप्त जानकारी अनुसार आज निर्दिष्ट समयभन्दा लगभग डेढ घण्टाअघि सिलगढी बोइज हाई स्कुल छुट्टी दिइयो। यसबारे अभिभावकहरूलाई थाहा नभएपछि तिनीहरू सदा झैँ स्कुल छुट्टी हुने समयमा अभिभावकहरू नानीहरूलाई लिन स्कुल जाँदा धेरैजनाले आफ्ना नानीहरूलाई नभेट्टाएपछि अभिभावकहरूले स्कुल कर्तृपक्षविरुद्ध क्षोभ प्रकट गरे। एकजना अभिभावकको भनाइ अनुसार साढे एक बजी स्कुल छुट्टी हुने समयमा आफूहरू नानी लिनको लागि स्कुल पुग्दा नानी भेट्टाएन। स्कुल निर्दिष्ट समयभन्दा अघि छुट्टी दिएको थाहा पाए। यसपछि यताउता नानी खोज्दा घरबाट आफूलाई फोन गरेर नानी घर आइपुगेको जानकारी गरायो। यदि नानी एक्लै घर जाँदा बाटोमा कुनै अप्रिय घटना भएको खण्डमा यसको जिम्मेवार कसले लिनेछ भन्दै अभिभावकहरूले प्रश्न चिन्ह खडा गरे। यस विषयमा स्कुलका प्रधान अध्यापक उत्पल दत्तले भने, आज स्कुलमा नानीहरूको रिजल्ट रहेकोले 1 बजेर 15 मिनटमै रिजल्ट दिने कार्य समाप्त भएपछि स्कुल छुट्टी दिएको हो। यसले गर्दा अभिभावकहरूलाई असुविधा भएकोमा प्रधान अध्यापकले तिनीहरूसित माफी मागे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *