एनजेपी क्षेत्रमा बिना अनुमति ड्रोन उडाएको आरोपमा 5 जना हिरासतमा

सिलगढी, 14 जनवरी: एनजेपी इलाकामा मंगलबार बिहानैदेखि आकाशमा दुई वटा उच्च गुणस्तरका ड्रोन उडिरहेको फुटेज प्राप्त भएपछि घटनाको जाँच गर्दै एनजेपी थाना पुलिसले 5 जनालाई सोधखोजका लागि हिरासतमा लिएको छ। जानकारी अनुसार आज बिहान रेलवे सुरक्षा स्टाफको क्यामेरामा ड्रोन उडिरहेको फोटो कैद भयो। यसपछि यो ड्रोन कसले उडाएको हो भन्ने कुराको खोजी गर्न थाले। अन्ततः रेलवे अधिकारीहरूले एनजेपी थाना पुलिससित सम्पर्क गरे। एनजेपी पुलिस थाना टोलीले दुई घण्टाको प्रयासपछि फूलबारी टी पार्कको सामु बिना अनुमति ड्रोन उडाइरहेको थाहा पाएपछि अन्य राज्यबाट आएका पाँच जनालाई हिरासतमा लिएको छ। पुलिस सूत्र अनुसार ड्रोन उडाउनेहरू एकजना रेलवे ठेकेदारअन्तर्गत काम गर्दै आइरहेका छन्। एनजेपी नयाँ स्टेशनको कामको लागि ड्रोन उडाएको दावी गरिएको छ। तथापि, पुलिसले सबै घटनाहरूको गम्भीरताको साथ जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *