एनजेपीमा शिशुलाई अपहरण गरेपछि केही टाढामा लगेर छोडिदियो दुष्कृतिहरूले, इलाकावासी आतङ्कित

सिलगढी : केही दुष्कृतिहरूले एनजेपी थानादेखि 5 सय मिटर दूरीबाट 9 वर्षीय एकजना शिशुलाई अपहरण गरेपछि केही टाढामा लगेर छोडिदिएको छ। उक्त घटना हिजो साँझ एनजेपी थाना अन्तर्गत सूर्यसेन कोलनी ई-ब्लक इलाकामा घटेको हो। प्राप्त जानकारीअनुसार हिजो साँझ दिलीप दासको छोरा सायन दास घर छेउमै रहेको एउटा दोकानमा गएको समय 3 जना दुष्कृतिहरूले तिनलाई एउटा वाहनमा हालेर लैजानको साथै ती दुष्कृतिहरूले उक्त शिशुलाई कुटपीट गरेको आरोप रहेको छ। यसपछि एनजेपी सारदा स्कुल अघि उक्त शिशुलाई छोडेर ती दुष्कृतिहरूले चम्पट कसेपछि टोटो चालकले उक्त शिशुलाई घर छोडिदिएको बताइएको छ। पीडित सायनले बताएअनुसार आरोपी ती 3 जनाले मुखमा मास्क लगाएका थिए। तिनीहरूले आफूलाई कुटपीट गरेपछि सारदा स्कुल अघि ल्याएर छोडिदिए अनि त्यसपछि एकजना टोटो चालकले आफूलाई घरमा ल्याइदिए। उक्त घटनाले गर्दा इलाकाका मानिसहरू आतङ्कित बनेका छन्। यस विषयलाई लिएर मानिसहरूले पुलिसविरुद्ध व्यापक क्षोभ प्रकट गरे। स्थानीय मानिसहरूको आरोप अनुसार उक्त इलाका एनजेपी थाना नजिक रहे तापनि यहाँ दिनभरि नशालु पदार्थ सेवन गर्नेहरूको अड्डा हुने गर्दछ। यहाँ बाहिरका मानिसहरू प्रायः आऊजाऊ गर्ने गर्दछ। पुलिसलाई यी सबै विषयमा ज्ञात रहे तापनि कुनै पहल गरेको छैन। हाल आफ्नो परिवारको सुरक्षालाई लिएर चिन्तामा रहेको तिनीहरूले बताए। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *