सिलगढी : सिलगढीको नर्सिङ होममा तोडफोडको घटनामा सीपीआईएम-का दुईजना नेतालाई पक्राउ गरेको घटनालाई लिएर दार्जिलिङ जिल्ला वामफ्रन्टले क्षोभ प्रकट गर्दै घटनाको प्रतिवादमा वृहत्तर आन्दोलन गर्ने चेताउनी दिएको छ। भक्तिनगरको भूपेन्द्रनगर इलाकामा रहेको नर्सिङ होममा एकजना युवकको मृत्यु भएपछि नर्सिङहोमले उपचारमा लापर्वाही गरेको आरोप लगाउँदै स्थानीय मानिसहरूले नर्सिङहोममा तोडफोड गरेको आरोप रहेको छ। उक्त घटनामा पुलिसले सुरेन्द्र शर्मा र बुलेट सिंह नाम गरेको सीपीआईएम-का 2 जना सक्रिय कार्यकर्तालाई पक्राउ गरेको छ। पक्रा परेका 2 जना नर्सिङ होम तोडफोड गरेको घटनामा संलग्न नरहेको दार्जिलिङ जिल्ला समतलका सीपीएम सचिव समन पाठक र जिल्ला वामफ्रन्टका संयोजक जीवेश सरकारले पत्रकार सम्मेलन गरेर दावी गरेका छन्। जिल्ला वामफ्रन्टको तर्फबाट आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर पुलिसले केवल राजनीतिक फाइदाको लागि मात्र ती दुईजनालाई पक्राउ गरेको आरोप लगाए। वास्तवमा ती दुईजनाले नर्सिङ होम तोडफोड गर्नेहरूलाई रोक्ने प्रयास गरिरहेको समन पाठक र जीवेश सरकारले दावी गरेका छन्। यस अवसरमा समन पाठकले भने, पक्रा परेका 2 जना सीपीएम-को सक्रिय कार्यकर्ता हुन्। राजनीतिक स्वार्थ नभएको भए पुलिसले ती दुईजनालाई मात्र पक्राउ गर्ने थिएन। तिनीहरूलाई पक्राउ गरेको प्रतिवादमा वामफ्रन्टले आन्दोलन गर्नेछ। अर्कोतिर, आज बिहानै सीपीआईएम-का दुईजना नेतालाई पक्राउ गरेकोमा सीपीआईएम-का नेता तथा कार्यकर्ताहरूले प्रतिवाद जनाउँदै भक्तिनगर थाना घेराउ गरेर विक्षोभ प्रदर्शन पनि गरे।