पगलाझोड़ाको बाटो मरमति नगरे सोमबारदेखि ट्रकहरू रोहिणीको बाटो कुदाउने

खरसाङ : एनएच 55 अन्तर्गत महानदी र घैयाबारीको माझमा रहेको पगलाझोड़ाको पैह्रो भएर ट्रकहरू कुदाउन धेरै असुविधा भइरहेकोले गर्दा ट्रक चालकहरूले आगामी सोमबारसम्म पगलाझोड़ाको बाटो मरमति नगरे सबै ट्रकहरू रोहिणीको बाटो भएर कुदाउने भएको छ। एनएच 55 अन्तर्गत तीनधारेको पैह्रो निर्माण कार्य पूरा भएपछि गत जनवरी महिनादेखि सबै ट्रकहरू एनएच 55 भएर कुदिरहेको थियो। तर केही दिनदेखि परिरहेको पानीले गर्दा पगलाझोड़ाको सड़कमा पानी र हिलोको कारणले गाड़ीहरू कुदाउन धेरै असुविधा भइरहेको बताइएको छ। पगलाझोड़ाको बाटो भएर गाड़ीहरू कुदाउन असुविधा भएको ट्रक चालकहरूले गुनासो गरेपछि दार्जीलिङ जिल्ला ट्रक मालिक संगठनको सभापति मन्ना त्रिखत्रीले पगलाझोड़ाको बाटो हेरेर सोमबारसम्म मरमत्ति गरिदिने नत्र सबै ट्रकहरू रोहिणी रोड भएर कुदाउने बताए। अहिले सबै ट्रकहरू डाउन रोहिणी रोड भएर अनि अप एनएच 55 भएर कुदिरहेको थियो तर पगलाझोड़ाको बाटोको सोचनीय अवस्थाले गर्दा सबै ट्रकहरू अप र डाउन दुवै रोहिणी रोड भएर सोमबारदेखि कुदाउने भएको छ। कारण पगलाझोड़ाको पैह्रो क्षेत्रमा गाड़ीहरू कुदाउन हिलो र पैह्रोले गर्दा जोखिमपूर्ण भएको साथै दुवैपट्टिबाट आएका गाड़ीहरू परबाट आएको देखेपछि परतिर रोकेर पर्खनु पर्ने स्थिति छ किनभने यहाँ अहिले एकपल्टमा एकापट्टि मात्रै गाड़ी कुदाउन सकिन्छ बाटो साँघुरो र हिलोसरिको भएकोले । यस विषयमा दार्जिलिङ जिल्ला ट्रक मालिक संगठनको सभापति मन्ना त्रिखत्रीले अहिले पगलाझोड़ाको बाटो भएर ट्रकहरू कुदाउन धेरै जोखिम भएको कारण माथिपट्टिबाट पैह्रो आउने सम्भावना छ फेरि एनएच 55 अन्तर्गत पगलाझोड़ा र महानदी नजिक चिउरी भिरमा पनि सड़क पैह्रोले लानु आँटेको छ। त्यसैले पगलाझोड़ाको बाटो झट्टै मरमत्ति नगरे हामी सबै ट्रकहरू आउँदो सोमबारदेखि रोहिणी रोड भएर कुदाउनेछौं भनी बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *