पहाडको आसनमा मतदान कसलाई गर्नु भन्नेबारे तृणमूलले स्पष्ट अडान लिओस्: बिमल गुरूङ

बिजनबारी: तृणमूल नेत्री तथा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले बङ्गाल विधानसभा चुनाउको लागि राज्यको मोठ 294 आसनमध्ये पहाडको तीन आसनमा आफ्नो पार्टीको उम्मेद्वार खडा नगरेपछि यसलाई लिएर हिल तृणमूल कङ्ग्रेसका समर्थकहरू चुनाउमा यसपाली कसलाई मतदान गर्ने भन्ने विषयलाई लिएर अन्योलमा परेका देखिन्छन्। सम्भवत पहाडको तीन आसन तृणमूलको घटक दल गोजमुमो विनय खेमा र बिमल खेमालाई छोडिदिएको भए तापनि आफुहरु यी मध्ये कुन पार्टीको प्रार्थीलाई सघाउने भन्नेबारे हालसम्म स्पष्ट नभएकोले मतदाताहरूमा कौतुहलको विषय बन्न पुगेको छ। किनभने हालसम्म गोजमुमोको दुवै खेमाले तृणमूल कङ्ग्रेससित आफ्नो पार्टीलाई घटक दलको रूपमा दावी गर्दै आइरहेको छ। तथापि यस्तो परिस्थितिबीच तृणमूल नेत्रीबाट स्पष्ट रूपमा कुन पार्टीको प्रार्थीलाई हिल तृणमूल समर्थकहरूले मतदान दिनुपर्ने हो भन्नेबारेमा अझसम्म स्पष्ट अडान सार्वजनिक गरिएको छैन। यसबारे स्वयम् हिल तृणमूलका शीर्ष नेतृत्वहरू नै अनभिज्ञ छन् भने कतिपय नेता तथा समर्थकहरूले यस्तो दोधारे नीतिलाई मन नपराएर भकाभक पार्टी छोडेर अन्य पार्टीमा सामेल हुने क्रम जारी रहेको देखिन्छ। यसैबीच, हाल रिम्बिक लोधोमा क्षेत्रको परिभ्रमणमा रहेका गोजमुमो अध्यक्ष बिमल गुरुङसित यसबारे सोधिएको प्रश्नको जवाफमा तिनले तृणमूलले गठबन्धनको धर्म निर्वाह गर्नुपर्ने तथा यसबारेमा आफुहरुले कसैलाई जोरजबर्जस्ती नगर्ने बताए। तिनले अझ भने, आफ्नो पार्टीको पकड केवल पहाडको तीन आसनमा मात्रै नभएर तराई डुवर्स लगायत लगभग 24 वटा आसनमा रहेकोले यसबारेमा तृणमूलले पनि स्पष्ट गर्नु आवश्यक छ। आफुले चाहँदा चाहँदैमा पनि डुवर्समा आफ्नो पार्टीको तर्फबाट उम्मेद्वार खडा नगरेर तृणमूल कङ्ग्रेसलाई सघाउने निर्णय लिएकोले अब तिनीहरूले पनि गठबन्धनको घर्म निभाउनुपर्ने बिमल गुरूङले बताए। यसवाहेक, पहाडको तीनै वटा आसन क्रमैले दार्जिलिङ, खरसाङ र कालेबुङमा आफ्नै पार्टीको उम्मेद्वार खडा गर्ने कुरा तिनले पुन: दोहोऱ्याउँदै यसको लागि तयारी भइरहेको अनि उम्मेद्वारहरूको घोषणा पनि चाँडै गरिने जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *