पहाड़का जनताको लागि नै मेरो जीवन समर्पित छ : बिमल गुरुङ

कालेबुङ: “जनतालाई जहाँ समस्या हुन्छ, म त्यहाँ पुग्छु। जनतालाई जहाँ अन्याय गरिन्छ, त्यहाँ म आवाज बनेर उभिन्छु। कोरोनाको महामारीबाट बचाउन आज जसरी काम गरिरहेको छु त्यसरी नै पहाड़ तराई र डुवर्सका जनताको सुरक्षाको निम्ति काम गरिरहन्छु। मेरो जीवन जनतालाई नै समर्पित छ।“ उक्त विचार व्यक्त गरेका छन् गोर्खा जनमुक्ति मोर्चा संस्थापक अध्यक्ष बिमल गुरुङले। हाल तिनी कालेबुङको भ्रमणमा छन्। अझ केही दिन कालेबुङमा नै बसेर जनताको समस्या बुझ्ने अनि संगठनलाई पनि सुदृढ़ बनाउने दिशामा कार्य गर्ने तिनले विचार प्रकट गरेका छन्। कालेबुङ आएपछि तिनलाई भेट्न दिनहुँ मानिसहरू विभिन्न समष्टिबाट आइरहेका छन्। सामाजिक दूरीलाई कायम राखेर अनि अनिवार्य मास्क लगाएर भए तापनि तिनले मानिसहरूलाई भेट्ने अनि यस आपदको समयमा कालेबुङ जिल्लाका जनतालाई सहयोग पुऱ्याउने कार्य गरिरहेका छन्। गोजमुमो विनय खेमाको कतिपय कार्यपद्धतिबाट वाक्कै-दिक्कै भएका मानिसहरू दिनहुँ बिमल खेमा नेतृत्वको सम्पर्कमा आइरहेको पार्टी सूत्रले जनाएको छ। कालेबुङमा विनय खेमाबाट शीर्ष नेताहरूले राजीनामा दिने क्रम शुरू भएदेखि अन्य विभिन्न समष्टिहरूबाट पनि राजीनामा दिएर बिमल खेमामा आउन धेरैले मन बनाइरहेको पार्टी सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *