पहाड़लाई सही नयाँ गोरेटोतिर लैजानेलाई साथ दिनुपर्छ : अनित थापा

मिरिक :  मिरिकमा भएको जनसभापछि गोजमुमो महासचिव अनित थापा यहाँबाट सोझै मिरिक नोल डाँड़ा पुगे। यस अवसरमा पार्टी समर्थकहरूले अनित थापालाई स्वागत जनाए। यस अवधि पत्रकारहरूसँगको कुराकानीमा थापाले नोलका जनतासँग अपील गर्दै शान्ति,विकास र यथार्थको राजनीतिको निम्ति यसपल्ट नयाँ सोच नयाँ विचारको पक्षमा भोट गरिदिने आहवान गरे। तिनले नोलवासीले पनि अब पहाड़लाई जलाउने, भत्काउने, तोड़नेको पक्षमा होइन तर सही बाटो देखाउने, पहाड़लाई नयाँ गोरेटोतिर लैजानेलाई साथ दिनुपर्छ भन्दै अब नोल डाँड़ाले पनि बुझ्नुपर्छ भनी बताए। तिनले आफूहरूको पहलमा यहाँको बाटोको निर्माण गरिदिएको पनि बताए। तिनले अझ भने, नोल डाँडावासीले नै अब तय गर्नुपर्छ कि अब आफ्नो गाउँलाई बनाउने हो कि भत्काउने हो? हाम्रा नेताहरूले जहिले पनि हाम्रा युवाहरूलाई जलाउने, भत्काउने दिशातिर मात्र लैजान्छन्। युवाहरू बेरोजगारीको शिकार भइसकेका छन्। तिनले स्थानीय बिमलपन्थी नेता पूर्णसिंह राईको बारेमा बताउँदै तिनी आन्दोलनमा मिस गाइड भएको दावी गरे। यस्तै मिस गाइडको शिकार भएर तिनी विस्थापित हुनु परेको अवगत गराउँदै तर उनी पनि एकदिन अवश्यनै सही दिशामा फर्केर आउने आशा व्यक्त गरे। थापासँगै अरुण सिग्ची, सञ्जीब छेत्री लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *