पहाडमा त्रिस्तरीय पञ्चायत चुनाउ हुनपर्ने गोजमुमो बिमल खेमाको माग

कोलकाता: गोर्खा जनमुक्ति मोर्चाको प्रतिनिधि टोलीले कोलकातामा आज पञ्चायत अनि ग्रामीण विकास मन्त्री सुब्रत मुखर्जीसँग भेट गरे। भेटघाटको क्रममा प्रतिनिधि टोलीले पश्चिम बंगाल सरकारको पञ्चायती ऐन मुताबिक पहाडमा त्रिस्तरीय पञ्चायत चुनाउ हुन पर्ने माग राखेको छ। प्रतिनिधि टोलीको कुरा सुनेपछि मन्त्री मुखर्जीले यस बिषयलाई मुख्यमन्त्री ममता ब्यानर्जी समक्ष राखिदिने आश्वासन दिएका छन्। प्रतिनिधि टोलीमा महासचिव रोशन गिरी र युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङ सामेल थिए। स्मरण रहोस् 1996 देखि नै अर्थात् दार्जीलिङ गोर्खा पार्वत्य परिषद (दागोपाप) छँदादेखि नै पहाडको जनता पञ्चायती व्यवस्थाबाट पाउने साहुलियत र सुविधाहरुदेखि वञ्चित हुँदै आउनु परेको हो। कारण त्यसबेला देखिनै पहाडमा त्रिस्तरीय पञ्चायत चुनाउ हुन सकेको थिएन। त्यसैलाई मध्यनजर राखेर 2011मा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन (जीटीए) मा सम्झौता गर्दा पनि गोर्खा जनमुक्ति मोर्चाले पहाडमा त्रिस्तरीय पञ्चायत चुनाउ हुनपर्छ भनेर आफ्नो स्पष्ट अडान राखेको हो। आज पनि गोर्खा जनमुक्ति मोर्चा पहाडमा त्रिस्तरीय पञ्चायत चुनाउ हुनपर्छ भन्ने अडानमा रहेको दावी गर्दै पञ्चायती व्यवस्थाबाट पाउने सबै साहुलियत र सुविधा पहाडको गरीब जनताले पाउन सकोस् भन्ने बिषयलाई अघि राखेर नै प्रतिनिधि टोलीले मन्त्रीसँग भेट गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *