पहाड़वासीलाई झुटको राजनीतिबाट माथि उठेर साँचो अनि यथार्थको राजनीति गर्ने आग्रह: विष्णु गोले

खरसाङ : हामीलाई विगतका धेरै पार्टीहरूले विभिन्न काम गरिदिन्छु भनेर झुटा आश्वासनहरू दिएर गए। यसपल्ट पनि यस्तै आश्वासनहरू लिएर आइरहेका छन्। तर हामी त्यस्ता पार्टीहरूपट्टि जानु हुँदैन। उपयुक्त मन्तव्य गोजमुमो विनय खेमा केन्द्रिय समिति सदस्य एवम् तामाङ सांस्कृतिक अनि विकास बोर्ड सदस्य विष्णु गोलेले व्यक्त गरेका हुन। तिनले पत्रकारहरूसँग कुराकानी गर्दै अब पहाड़वासीलाई झुटको राजनीतिबाट माथि उठेर साँचो अनि यथार्थको राजनीति गर्ने आग्रह गरे। यसपल्टको विधानसभा चुनाउमा पहाड़को तीनैवटा आसनमा विनय खेमाका प्रार्थीहरूले जीत हासिल गर्ने कुरोमा तिनी पूर्ण रूपले आशावादी रहेको जनाउँदै आफ्ना पार्टीका उम्मेदवारहरूलाई जिताउनको निम्ति ठाउँ-ठाउँमा गएर चुनाउ प्रचार गरिरहेको तिनले जनाए। गोलेले भने, म तामाङ युथ एसोसिएशनको संस्थापक भएको नाताले पनि संगठनका सबै सदस्यहरूसँग भेट गर्ने अनि तिनीहरूलाई समेटेर भोटको निम्ति अपिल गर्ने कार्य निरन्तर रूपमा गरिरहेछु औ सबैबाट सकारात्मक व्यवहार अनि ऊर्जा पाइरहेको छु । यसले गर्दा पनि हाम्रो जीत निश्चित छ। विशेषगरी, पार्टी महासचिव अनित थापाले हाल खरसाङ क्षेत्रलाई नै हेरिदिने जिम्मेवारी दिएको कारण अहिले खरसाङ क्षेत्रमा नै रहेर कार्य गरिरहेको बताउँदै यहाँका प्रार्थी छिरिङ लामा दाहालको पक्षमा चुनावी प्रचार अभियानमा लगातार लागिरहेको अवगत गराए। आफुलाई पार्टीले जुन भरोसा र विश्वास गरेर जिम्मेवारी दिएको छ, त्यसलाई सठीक ठाउँमा प्रयोग गरेर जनहितको निम्ति कार्य गर्नेछु भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *