पहाडको विविध समस्याबारे मुख्यमन्त्रीसित भेट गरे अनित थापाले

दार्जिलिङ :  जीटीए अध्यक्ष अनित थापा अनि मुख्य सचिव सुरेन्द्र गुप्तले मुख्यमन्त्री ममता ब्यानर्जीसित हिजो कलकत्ताको नवान्नमा भेट गरेर दार्जिलिङ पहाडको विभिन्न मुद्दाहरूबारे कुराकानी गरे। उक्त भेट अवधि हाल विश्वभरिमै फैलिरहेको कोरोना भाइरसको रोकथामलगायत चियाकमान, सिन्कोना बगान आदिको समस्याबारे मुख्यमन्त्रीलाई अवगत गराएको बताइएको छ। नेपालमा कोरोना भाइरसको सङ्क्रमण भेट्टाइएको समाचारलाई ध्यानमा राखेर कोलकाता स्वास्थ्य भवनबाट सबै राज्यभरिका डीएमओएच, सुपरिन्टेनडेन्टहरूलाई कोरोना भाइरसको रोकथाम गर्न सतर्कता अप्नाउने निर्देश दिएको मुख्यमन्त्रीले जीटीए चेयरम्यान अनित थापालाई अवगत गराइन्। यसैगरी, भेट अवधि दार्जिलिङ युनिभर्सिटीलगायत सिन्कोना बगानको पदोन्नति, बद्ली, पर्जापट्टा आदि विषयमा पनि कुराकानी गरेपछि मुख्यमन्त्रीले उचित आश्वासन दिएको थापाले दावी गरेका छन्। उक्त भेटपछि जीटीए अध्यक्षले पश्चिम बंगालको मुख्य सचिव राजीव सिन्हासित पनि भेट गरेर सिन्कोनाको समस्याहरूबारे अवगत गराए। यसपछि फेरि श्रम मन्त्रीसित पनि तिनले भेट गरेर पर्जापट्टा लगायत श्रमिकहरूको अन्य विविध समस्याहरूबारे कुराकानी गरेको गोजमुमो पार्टी सूत्रले जानकारी गराएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *