पहिलो नेपाली कवाली गीत ‘तिम्रो नामले’ सार्वजनिक

दार्जिलिङ (निसं): पुरण गिरीको शब्द अनि दीप वाईबाको संगीतमा बनिएको पहिलो नेपाली कवाली गीत ‘तिम्रो नामले’ आज दार्जिलिङको गोदुनिस पुस्तकालय कक्षामा सार्वजनिक गरियो। प्रसिद्ध संगीतकार वसन्त छेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संगीत अनि साहित्य क्षेत्रका वरिष्ट व्यक्तित्व लगायत कला प्रेमीहरूको विशेष उपस्थिति रहेको थियो। यस कवालीका गायक प्रनेस थामी अनि गायिका रजनी रिदम राई रहेका छन् भने कवालीको कोरियोग्राफी शशी शेर्पाद्वारा गरिएको छ। गुरुजी राजेन प्रधानद्वारा निर्माण गरिएको यस कवालीलाई बिनय शंकरद्वारा छायाङ्कन गरिएको छ भने आदित्य रायाद्वारा सम्पादन अनि निर्देशन गरिएको छ, जसमा सिवानी छेत्रीले सह निर्देशकको रुपमा काम गरेकी छन् अनि रीना रायाद्वारा मेक अप गरिएको छ । नेपालीमा प्रथम कवालीको रुपमा रेकर्डिङ गरिएको यस गीतका संगीत संयोजक जीवन प्रकाश प्रधान हुन् अनि तिनकै स्टुडियो रिदम रेकर्डिङ्ग्समा रेकर्ड अनि अडियो प्रडक्सन गरिएको हो। शिवानी छेत्रीद्वारा सञ्चालन गरिएको आजको कार्यक्रममा नै यस भिडियोसँग सम्बन्धित सबै जनालाई निर्माण टोलीको तर्फबाट संवर्द्धना पनि जनाइयो। कार्यक्रममा संगीतकार बसन्त छेत्रीले भिडियो सार्वजनिक भएको घोषणा गरे भने गायिका दावा ग्यालमोले प्ले बटन थिचेर भिडियो उपस्थित दर्शकसमक्ष प्रस्तुत गरे। ‘तिम्रो नाम’ले भिडियो डीटीभी दार्जिलिङको युटूब च्यानलमार्फत आज बेलुकी नै रिलिज गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *