पैह्रोले बन्द अवस्थामा रहेको एनएच 55-को सडक खोल्ने कार्य युद्ध स्तरमा जारी

खरसाङ : खरसाङको महानदीमा पैह्रो गएर बाधित बनेको एनएच 55 खोलाउन मरमत्ति कार्य शुरु गरिएको छ। गत बुधबार बिहान 3 बजेतिर गएको पैह्रोले एनएच 55 बन्द अवस्थामा रहेको छ। बन्द रहेको एनएच 55 खोलाउन हिज शुक्रबारदेखि नै जेसीपी लगाएर भित्ता काट्ने कार्य युद्धस्तरमा जारी रहेको छ। आज दोस्रो दिन पनि एनएच 55-को कार्यकारी इञ्जिनियर आएर निरीक्षण गरेको जानकारी प्राप्त भएको छ। जेसीपीको सहयोगमा पैह्रोको माथिल्लोपट्टि भित्ता काटेर बाटो निकाल्ने कार्य आज पनि जारी रह्यो। प्राप्त जानकारी अनुसार एनएचको पैह्रोले लगेको भाग अहिले मरमत्ति नगरेर पैह्रोको माथिल्लोपट्टि भित्ता काटेर चाँढ़ै वाहनहरू कुद्न सक्ने बाटो निकालिइने भएको छ। हाल पैह्रोको एक भागबाट बाइक र स्कुटीहरू कुदाउन सक्ने बाटो बनाइएको छ। अब केही दिनको अवधिमा नै भित्ता काटेर नालीमा ह्याण्ड पाइप लगाएर बाटो निकाल्ने अनि गाड़ीहरू कुदाउन सक्ने बनाउने भएको छ। विशेष गरेर भोली 24 अक्टोबरको दिन राज्यकी मुख्यमन्त्री उत्तर बंगालको भ्रमणमा आउने भएकी छन् र 26 अक्टोबरको दिन खरसाङमा प्रशासनिक बैठक बस्ने भएकोले सोमबारसम्म एनएच 55 पनि खोलाउने प्रयास गरिने जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *