पैह्रोले गर्दा महानदीको सिविटार तितिरी गाउँ निक्कै प्रभावित

खरसाङ: खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटार तितिरी गाउँलाई पनि पैह्रोले निक्कै प्रभावित बनाएको छ। सिविटार चियाबारीमा पैह्रोले गर्दा रुख लड़ेर सड़क बाधित बनेको छ। स्थानीय विवेक राईको घर मुनिपट्टि रहेको सड़कमा एउटा रुख ढलेपछि सड़क बन्द हुनुको साथै केही घरहरूलाई केही खतरा रहेको छ। महानदीबाट सिविटार चियाबारी आएर गैरी गाउँदेखि सिविटार तितिरी आउने बाटो उक्त रुख ढलेर बन्द भएको छ भने यसले गर्दा स्थानीय विवेक राई लगायत अझ दुईवटा घरलाई खतरा भएको छ। पैह्रोले सड़कमुनि रहेको दीपक छेत्रीको घरलाई पनि खतरा रहेको जानकारी प्राप्त भएको छ। सड़क बाधित बनेपछि सिविटार चियाबारीको काँचो चियापत्ती अन्यत्र लैजान असुविधा भइरहेको छ। यस विषयमा स्थानीय मोहन सेवाले बताएअनुसार लगातार परिरहेको पानीले गर्दा गाउँलाई निक्कै क्षति भएको र विवेक राईको घरमुनि पैह्रो गएर रुख ढलेको अनि सड़क पनि बाधित बनेको छ। यसले गर्दा माथिल्लोपट्टि विवेक राई, गुञ्जन राई र रञ्जन राईको घरलाई खतरा हुन सक्ने र तल्लोपट्टि दीपक छेत्रीको घरलाई खतरा हुने तिनले बताए। सड़कमा पहिला नै देवाल निर्माण गरेको भए रुख ढल्दैन थियो भन्दै तिनले सम्बन्धित विभागले यसको मरमति गरिदिए असल हुने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *