पञ्चायत चुनाउ: घैयाबारी ग्राम पञ्चायत दुईको तीनधारे क्षेत्रको पञ्चायत समितिको आसनमा 3 जना महिलाहरू चुनाउ मैदानमा

खरसाङ (निसं) : यसपालीको पञ्चायत चुनाउमा खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईको तीनधारे क्षेत्रको पञ्चायत समितिको अनुसूचित जातिको सिटमा तीनजना महिलाहरू चुनाउ मैदानमा उत्रेका छन्। घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत तीनधारेको बुथ नम्बर 247 शंकर निवास क्षेत्र, बुथ नम्बर 248 क्रिकेट बजार क्षेत्र र बुथ नम्बर 249 राजबारी क्षेत्रबाट तीनजना महिलाहरूले प्रतिस्पर्धा गरिरहेका छन्। यस अन्तर्गत पहाड़को सत्तारूढ़ दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट सानुमति कामी, भारतीय जनता पार्टीबाट स्नेह बरदेवा अनि निर्दलीय प्रार्थीको रुपमा सपना गहतराज रहेका छन्। तीनैजनाले आफ्नो चुनाव प्रचार कार्य लगातार रूपमा गरिरहेका छन्। पहाड़मा पहिलोपल्ट भईरहेको दुई स्तरीय पञ्चायत चुनाव अन्तर्गत पञ्चायत समितिको सिटमा यसपाली धेरैले चुनाव लडिरहेका छन्। यस अन्तर्गत खरसाङ खण्डको घैयाबारी ग्राम पञ्चायत दुई तीनधारे क्षेत्रमा दुईवटा सिटहरू रहेका छन् भने दुईवटै सिट अनुसूचित जातिको लागि आरक्षण गरिएको छ। यसमध्ये एक सिट अनुसूचित जातिको पूरूष सिट छन् भने अर्कोमा महिला सिट आरक्षण गरिएको छ। पञ्चायत समितिको पुरूष सिटमा जम्मा सातजना प्रार्थीहरूले प्रतिस्पर्धा गरिरहेका छन् भने महिला सिटमा तीनजना चुनाव मैदानमा उत्रेका छन्। घैयाबारी ग्राम पञ्चायत दुईको अनुसूचित जातिको महिला सिटमा भारतीय जनता पार्टीको टिकटमा पञ्चायत चुनाव लडिरहेका स्नेह बरदेवा मिडियामा बोल्न मानेनन् भने अन्य दुईजना सानुमति कामी र सपना गहतराजले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *