पञ्चायत चुनाउको लागि तयार बस्ने हाम्रो पार्टी-का कार्यकर्ताहरूलाई अजय एडवार्डसको निर्देश

दार्जिलिङ (निसं): पञ्चायत चुनाउको लागि तयार बस्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पार्टी कार्यकर्ताहरूलाई निर्देश दिए । दार्जिलिङको माल रोडस्थित पी. कोठी हाम्रो पार्टी कार्यालयमा पार्टी अध्यक्ष अजय एडवार्डसले पार्टी कार्यकर्ता एवम् समर्थकहरूसँग आज बैठक गरे। उक्त बैठकलाई सम्बोधन गर्दै अजय एडवार्डसले आफु पहाडको कुनै पनि ग्रामीण क्षेत्रहरूमा जाँदा त्यहाँको बाटोहरूको अवस्था सोचनीय रहेको आफुले देखेको बताए। यसवाहेक ग्रामीण क्षेत्रहरूमा पिउने पानी, स्वास्थ्य उपचारको लागि व्यवस्था नभएको तिनले बताए। विगत 22 वर्षदेखि पहाडमा पञ्चायत चुनाउ नभएको अवगत गराउँदै हामी पनि भारतकै नागरिक हौ तर हामीसँग यस्तो भेदभाव किन भन्दै अध्यक्ष एडवार्डसले प्रश्न तेर्साए। शहरीय क्षेत्रहरूको विकाश गर्न संवैधानिक ब्यवस्था नगरपालिका छ, त्यसरी नै ग्रामीण क्षेत्रहरूको विकाश गर्नलाई संवैधानिक पञ्चायती व्यवस्था छ तर विगत 22 वर्षदेखि पहाडको ग्रामीणवासीहरूलाई पञ्चायती व्यवस्थाबाट वञ्चित राख्ने कार्य भइरहेको तिनले बताए। यदि पञ्चायत व्यवस्था पहाडमा पनि लागू भए त्यहाँका मानिसहरूको लागि थुप्रै योजनाहरू रहेको एडवार्डसले बताए। पहाडमा तीन स्तरीय पञ्चायत चुनाउ हुनपर्छ भन्ने माग हामी सबैले गर्नपर्छ भन्ने तिनले अन्य राजनीतिक पार्टीका नेतृत्वहरूसित पनि अपिल गरे। हाम्रो पार्टी एउटा राजनैतिक पार्टी भएको हुनाले पहाडमा हुने कुनै पनि चुनाउमा पार्टीले अंश ग्रहण गर्ने तिनले जानकारी दिए। तिनले सोनादाको शान्ति रानी उच्चतर माध्यमिक विद्यालयको प्रबन्धन समितिको चुनाउमा हाम्रो पार्टीले जीत हासिल गरेकोमा विजयी हुनेहरूलाई हार्दिक बधाई दिनको साथै स्कुलको चुनाउ अवधि गरेका वाचाहरू पनि पूरा गर्नु पर्छ भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *