पञ्चायत चुनाउको निम्ति आरक्षित आसन हटाइएकोमा लङ्गभ्यू-पंखाबारी क्षेत्रका अनुसूचित जातिको आपत्ति

खरसाङ (निसं): पञ्चायत चुनाउको निम्ति सम्बन्धित निकायबाट आसन आवण्टन सार्वजनिक गरिएपछि कतिपय ठाउँहरूमा यसको प्रतिक्रिया अनि विरोधहरू आउन थालेको छ। यसै क्रममा खरसाङ खण्ड अन्तर्गत लङ्गभ्यू-पंखाबारी क्षेत्रमा पनि यस प्रकारको विरोध देखिएको छ। क्षेत्रमा धेरै अनुसूचित जातिहरू भए तापनि यहाँबाट एउटै आसन पनि अनुसूचित जातिलाई नदिएकोमा स्थानीय अनुसूचित जातिका सदस्यहरू क्षुब्ध बनेका छन्। यसै विषयलाई लिएर यहाँको लङ्गभ्यू सार्वजनिक भवनमा लङ्गभ्यू-पंखाबारी क्षेत्रका अनुसूचित जातिका सदस्यहरूलाई लिएर अखिल भारतीय अनुसूचित जाति संघ लंगभ्यू-पंखाबारी शाखाको आयोजनामा एउटा सभाको आयोजना गरियो। लाल बहादुर घतानीको सभापतित्वमा सम्पन्न सभामा गत 9 नोभेम्बर 2022 को दिन खरसाङको खण्ड विकास अधिकारीद्वारा यसपल्ट सम्पन्न हुने पञ्चायत चुनाउ विषय आशन आवण्टन गरिँदा अनुसूचित जातिको निम्ति सन्त मेरिय तीन ग्राम पञ्चायत अन्तर्गत लङ्गभ्यू-पंखाबारी 24 खरसाङ विधानसभा क्षेत्रको बुथ नम्बर 24/222 (एससी, महिला), 24/223 मा एससी (खुल्ला), 24/226 मा एससी (महिला) अनि सन्तमेरिज तीन/चार-7 एससी खुल्ला रहेको थियो। तर गत 5 दिसम्बर 2022 को दिन सोही कार्यालयबाट जारी गरिएको आसन आवण्टन सूचीमा अनुसूचित जातिको चारैवटा आरक्षित आसनहरू हटाएर अन्य वर्गको निम्ति रहेको देखिएको विषयलाई लिएर यसको घोर विरोध जनाइयो। यसै सन्दर्भमा राखिएको सभालाई प्रतिक धनुके, राम बहादुर रोका, बिगत लकान्द्री, निरज धनुके,रोशन खाती अनि बसन्त लोहारले सम्बोधन गरेका थिए। सभामा धेरै चर्चा-परिचर्चा गरेपछि यसरी अघिको आरक्षित सीट रद्द गरेर नयाँ सीट आवण्टन गरिएकोमा विरोध जनाउँदै 9 नोभेम्बर 2022 कै आवण्टनलाई यथावत् राख्ने तथा 5 दिसम्बरको आवण्टनलाई रद्द गर्ने माग गरियो। यसबारे खरसाङ खण्ड विकास अधिकारी, जीटीए मुख्य कार्यपाल अनित थापालाई ज्ञापन दिइने निर्णय लिइयो भनी प्रतिक धनुकेले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *