पञ्चायत चुनाउमा गठबन्धनको पराजयको मुख्य कारण ‘ईगो’ रहेको नत्र चुनाउ परिणाम अर्कै हुने थियो : अजय एडवाडर्स

दार्जिलिङ (निसं) : पहाडको पञ्चायत चुनाउको परिणामसँग म हतास भएको छुइनँ, हामी हारेका छौ तर हाम्रो भोटको प्रतिशत बढेको छ। यो हाम्रो निम्ति खुशीको विषय हो। पञ्चायत चुनाउमा गठबन्धनको पराजयको मुख्य कारण ‘ईगो’ रहेको कुरा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताए। पञ्चायत चुनाउमा विजयी बनेका हाम्रो पार्टीका पञ्चायत सदस्य तथा पञ्चायत समितिका सदस्यहरूलाई लिएर आज दार्जिलिङको गोर्खा दुख निवारक सम्मेलन भवनमा पार्टीको तर्फबाट विजय उत्सव पालन गर्दै तिनीहरूलाई सम्मान जनाइयो। उक्त कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष अजय एडवाडर्स लगायत महासचिव फुर्तेम्बा भोटिया,पार्टी केन्द्रीय प्रवक्ता श्याम गौतम, मिरिक महकुमा समिति अध्यक्ष प्रशान्त लामा, लाडुप घिसिङ, दार्जिलिङ महकुमा समिति अध्यक्ष पूरण तामाङ, सुमन बम्जन लगायत विभिन्न समष्टीका पदाधिकारीहरू तथा पार्टीका कार्यकर्ताहरू उपस्थित थिए। कार्यक्रमको शुभारम्भमा राष्ट्रपति महात्मा गाँधीको तस्वीर अघि दीप जलाएर खदा अर्पण गरियो। उक्त विजय उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अजय एडवर्डसले भने, छुटटै राज्यको मांग हाम्रो मुटुको ढुकढुकी हो। जनताको राज भनेको सत्तामा बस्नु मात्र होइन। चुनाउ होस् अथवा कुनै युद्ध होस्, यदि नेतृत्व उपस्थित छैन भने त्यसलाई फत्ते गर्न धेरै गाह्रो पर्छ। चुनाउ अवधि मेरो पिता अस्वास्थ्य भएको हुनाले म तपाईहरूसँग चुनाउ प्रचार गर्न सकिन, यसले मलाई धेरै पोलिरहेको छ। तथापि पञ्चायत चुनाउमा पहाडको नौवटा ब्लकहरूमध्ये हाम्रो गठबन्धनले दुईवटा ब्लकमा जीत हासिल गरेका छौ अनि 25 भन्दा धेर बोर्डहरू गठन गर्न हामी सफल बनेका छौ।


जनताको राज भनेको सत्तामा बस्नु मात्र होइन, विपक्षमा बसेर पनि जनताको धेरै कामहरू गर्न सकिन्छ। तिनले अझ भने, आजभन्दा चालिस वर्ष अघि पहाडमा विपक्षी भन्ने थिएन। त्यस समय एकल नीति थियो, पत्रकारहरू लगायत अन्य पहाडमा कोही बोल्न सक्दैन थियो। दार्जीलिङ पहाडबाट डर, भय र सन्त्रासको राजनीति हटनु पर्छ भन्दै हामीले नारा लगाएको 25 वर्ष पुगेछ। पहाडबाट डर, भय र सन्त्रासको राजनीति हट्नु पर्छ भन्दै हिडदा आफु अनि आफ्नो परिवार सात वर्ष पहाड छोडनु परेको कुरा पनि आज अध्यक्ष एडवाडर्सले स्मरण गराए। तिनले अझ भने, यस पटकको पञ्चायत चुनाउमा पहाडका नेताहरूले बुथ क्यापचर गर्नु कोशिश गऱ्यो तर सचेत पहाडवासीले तिनीहरूलाई दिएनन्। जनताको राज भनेको यो नै हो। गठबन्धन दलहरूका नेतृत्वहरूले एउटै वार्डबाट दुई तीनजना उम्मेद्वारहरू खडा गर्ने हुँदा गठबन्धनका उम्मेद्वारहरू पराजय भएको हो। विजय दलका उम्मेद्वारहरूले थोरै भोटले जीत हासिल गरेको छ यदि हामीले ईगो त्यागेको भए पहाडको पञ्चायत चुनावको परिणाम अर्कै हुने थियो भन्दै अजय एडवर्डसले सबैसित आह्वान गर्दै घमण्डले कसैलाई लाभ गर्दैन, त्यसले डुबाएर लान्छ, त्यसकारण हामीले घमण्डलाई त्याग्नै पर्छ भन्ने सन्देश दिए। आजको कार्यक्रम अवधि केही विजेता निर्दल पञ्चायत सदस्य हाम्रो पार्टीमा सामेल भए। सबै विजयी पञ्चायत सदस्यहरूलाई खदा लगाइदिएर अजय एडवर्डसले जीतको बधाई दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *