पञ्चायत चुनाउमा संशोधित जनप्रतिनिधिको अनुपातलाई लिएर गोजमुमो-ले जनायो आपत्ति

दार्जिलिङ: पहाडमा पञ्चायत चुनाउको मिति अहिले नै घोषणा नभए तापनि यसलाई लिएर माहौल उतप्त बन्दै गइरहेको छ। हालै राज्य विधान सभामा पञ्चायत चुनाउ अनि यसमा जनप्रतिनिधिको अनुपात विषयलाई लिएर पारित गरिएको संशोधन विषयलाई लिएर हाल पहाडको केही राजनीतिक पार्टी लगायत गैर राजनीतिक संघ-संस्थानहरूले पनि आपत्ति जनाइरहेको घटना प्रकाशमा आइरहेको छ। यसैक्रममा आज गोर्खा जनमुक्ति दार्जिलिङ मोर्चा टाउन कमिटीको अध्यक्ष सोभित राईले दार्जिलङस्थित पार्टी कार्यालयमा प्रेस भेलालाई सम्बोधन गर्दै पहाडमा सम्पन्न हुने पञ्चायात चुनाउको सन्दर्भमा आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन्। हालै राज्यद्वारा संशोधित पञ्चयात विधेयक बारेमा बोल्दै तिनले पत्रकारहरूलाई भने, पहाडमा एउटा ग्राम पञ्चायत सदस्यको निम्ति 7 सय मतदाता अनिवार्य गरिनु भनेको यो सरासर ग्रामीण मतदाताहरुको निम्ति अन्याय हो। पहिले पञ्चायत चुनाउ हुँदा एक ग्राम पञ्चायत सदस्यलाई 250 मतदातालाई सेवा पुऱ्याउन हम्मे हम्मे पर्थ्यो भने अहिले झन बढाएर 700 पुर्याउँदा यसले पञ्चायत व्यवस्थापन नै अस्थिर हुने आशंका तिनले व्यक्त गरेका छन्। समय अनुसार मतदाता संख्या बढाउन अनिवार्य हो तथापि 250 देखि सोझै 700 मतदाताहरु पुर्याउन भने नहुने बताउँदै कमसेकम 400 मतदातासम्म ठीकै थियो तर एउटा ग्राम पञ्चायत सदस्यको निम्ति 700 मतदाता अनिवार्य गराउने बिषयलाई गोजमुमो-ले अस्वीकार गर्नेछ भनि तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *