पानीघट्टालाई पराजित गरेर मरमा टोली विजयी

मिरिक : दार्जिलिङ खेल उत्सव अन्तर्गत आज मिरिकको आले खेल मैदानमा मिरिक पुलिसद्वारा खेलाइएको फुटबल प्रतियोगिताको फाइनल खेला सम्पन्न भयो। पुलिस पब्लिक माझको सम्बन्धलाई अझ राम्रो बनाउन प्रत्येक वर्ष दार्जिलिङ पुलिसद्वारा फुटबल प्रतियोगिताको आयोजना गर्ने गरिन्छ। आजको फाइनल खेल मिरिकको मरमा बनाम पानीघट्टामाझ सम्पन्न भयो। निर्धारित समय अवधि दुवै टोलीले 3-3 गोल गरेर बराबरी भएपछि अन्तमा खेलाइएको  पेनाल्टी शुट आउटमा मरमाले 3 गोलको विरुद्ध 4 गोल गरेर विजयी बन्यो। मिरिक नगरपालिका चेयरम्यान एलबी राईको मुख्य आतिथ्य अनि एसडीपीओ मिरिकको विशिष्ट आतिथ्यमा सम्पन्न फाइनल खेलमा मिरिक थाना अनि पानीघट्टा थानाका पुलिस अधिकारीहरू लगायत नगरपार्षद सञ्जीव तामाङ, युवा तृणमूल कांग्रेस नेता विकास सुब्बा आदि उपस्थित थिए। मिरिक थाना प्रभारी सुदीप कुमार प्रधान अनुसार मिरिक पुलिस स्टेशन अन्तर्गत आठवटा टोलीमाझ भएको प्रतिस्पर्धामा मरमा फाइनलमा प्रवेश गरेको साथै पानीघट्टा पुलिस थाना अन्तर्गत पनि आठवटा दलहरूमाझको प्रतिस्पर्धामा पानीघट्टा फाइनल राउण्डमा पुगेको थियो। विजय टोलीले अब महकुमा स्तरको खेलमा प्रतिस्पर्धा गर्ने छ भने महकुमा स्तरमा फाइनल खेल जित्ने टोलीले जिल्ला स्तरीय प्रतिस्पर्धामा अंश ग्रहण गर्ने थाना प्रभारी प्रधानले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *