पानीको समस्या समाधान नगरे वनभोज स्थल बन्द गरिदिने सीपीआईएम-को चेताउनी

बानरहाट : बानरहाटको लाल झमेला बस्तीमा पिउने पानीको समस्या समाधान नभए आउँदो 1 जनवरीदेखि लाल झमेला बस्ती वनभोज स्थल बन्द गरिदिने सीपीआईएम पार्टीले चेताउनी दिएको छ। कोरोनाकालमा पनि प्रशासनले यहाँ वनभोज स्थल जारी राखेर बस्तीवासीहरूको स्वास्थ्यसित खेलवाड गरेको सीपीआईएम-का समर्थकहरूले आरोप लगाएका छन्। यसै विषयलाई लिएर आज सीपीआईएमको तर्फबाट नगरकट्टा बीडीओ-लाई भेटेर एउटा ज्ञापन पत्र पनि चढाइयो। सीपीआईएम नेताहरूले ब्लक प्रशासन परिसरमा विक्षोभ प्रदर्शन गर्दै द्वारे सरकार भनेर राज्य सरकारले कार्यक्रम चलाइरहेको छ तर जनता सरकारको द्वारमा आउन पर्दैछ, के यहीँ हो द्वारे सरकार भनेको भन्दै नेताहरूले प्रश्न खडा गरेका छन्। लाल झमेला बस्तीका भूतपूर्व पञ्चायत सदस्य पदम राईले भने, हामी पिउने पानीको समस्यासित वर्षौँदेखि जुझिरहेका छौँ तर प्रशासनले हालसम्म कुनै पहल गरेको छैन। बस्तीमा रहेका सबै ह्याण्ड पम्पहरू हाल खराब अवस्थामा रहेको छ। अहिले बस्तीवासीहरूले डायना नदीको पानी पिउन बाध्य छन्।तिनले अझ भने, हाल पिकनिक सिजनले गर्दा नदीमा फ्याँकिएका मैलाहरू पनि नदीमा बगेर आउँछ, यहीँ मैला पानी पिउन वस्तीवासीहरू बाध्य बनेका छन्। यी सबै विषयलाई लिएर आज आफूहरूले बीडीओसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको बताउँदै यदि प्रशासनले यसबारे कुनै पहल नगरे आउँदो एक जनवरीदेखि पिकनिक स्थल बन्द गरिदिने तिनले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *