परीक्षामा बस्न दिने मागमा तृणमूल छात्र परिषदद्वारा सिलगढी कलेजमा धरना प्रदर्शन

सिलगढी : परीक्षामा बस्न दिने माग गर्दै तृणमूल छात्र परिषद्ले आज सिलगढी कलेजमा धरना प्रदर्शन गर्यो। प्राप्त जानकारी अनुसार सिलगढी कलेजको तेस्रो र पाँचौँ सेमेस्टरका केही विद्यार्थीहरू धेरै समयदेखि कलेज आएका छैनन्।  लगातार अनुपस्थित रहेकोले गर्दा कलेज प्रशासनले तिनीहरूलाई परीक्षामा बस्ने अनुमति दिएको छैन। परीक्षा दिनको लागि 75 प्रतिशत उपस्थिति आवश्यक रहेको छ। तर केही विद्यार्थीहरूको उपस्थिति धेरै कम्ती रहेको छ। यसैलाई लिएर आज विद्यार्थीहरूले विरोध प्रदर्शन गरेको बताइएको छ। यस सम्बन्धमा तृणमूल छात्र परिषदको तर्फबाट अभिजीत ब्यानर्जीले भने, सिलगढी कलेजमा धेरैजना विद्यार्थीहरू छन्, जो टाढा-टाढाबाट पढ्न आउने गर्छन्। तीमध्ये केही विद्यार्थीहरूको पारिवारिक समस्याहरू रहेको छ। केही विद्यार्थीहरू कलेजमा पढाई गर्नको साथसाथै विभिन्न ठाउँमा काम गर्ने गर्दछन्। यसको साथै यस्ता केही प्रोफेसरहरू छन् जसले नियमित क्लास गर्दैनन्। यदि क्लास राम्ररी भएको भए विद्यार्थीहरूको उपस्थिति पनि अधिक हुने थियो। अर्कोतिर, कलेजका प्रिन्सिपल सुजीत घोषले भने, यसभन्दा अघि पनि तिनीहरूले विरोध गरेका थिए। हामीले पहिला पनि तिनीहरूलाई छुट दिएका थियौँ। विद्यार्थीहरूलाई नोटिस समेत दिए तापनि विद्यार्थीहरूले यसमा ध्यान दिएनन्। यस विषयमा पछि निर्णय लिनेछौँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *