पर्जापट्टाको लागि भूमि सर्वेक्षणको कार्य भइरहेछ : शान्ता छेत्री

मिरिक: पश्चिम बंगाल राज्यको तृणमूल कङ्ग्रेस सरकारले गत 27 दिसम्बर 2021 मा एउटा नोटिफिकेसन जारी गरेर पहाडको भूमीहिन अनि आर्थिकरूपले विपन्न परिवारहरूलाई जमीनको पर्जापट्टा प्रदान गर्ने योजना तयार पारेपछि हाल विभागीय रूपमा भूमि सर्वेक्षणको कार्य भइरहेको हिल्स तृणमूल कङ्ग्रेस अध्यक्ष तथा राज्यसभा सांसद शान्ता छेत्रीले आज मिरिकमा पत्रकारहरूलाई बताइन्। तिनले 365 दिन नै भूमि सर्वेक्षणको कार्य गरेर जमीनको पर्जापट्टा प्रदान गरिने दावी गर्दै यसको लागि एउटा कमिटी गठन गरिएको, जसमा ग्राम पञ्चायत क्षेत्रको लागि खण्ड विकास अधिकारी चेयरम्यान, संयोजक बीएलएआरओ, जीटीएका सदस्यहरू रहेको जानकारी दिइन्। तिनले बिजनबारी कर्मटारको 130 ऐकर जमीनको सर्वेक्षण भइसकेको जानकारी गराउँदै पश्चिम बंगाल राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले कुरा मात्र होइन तर काम गरेर देखाउछिन् भनी बताइन्। मुख्यमन्त्रीको पहलमा भूमिहीनहरूलाई जमीनको पर्जापट्टा दिन राज्य सरकारले कार्य गरिसकेको जानकारी गराउँदै खरसाङ क्षेत्रको दूधे, गाडीधुरा, निरपानियाँ, च्याँगा बस्तीमा पनि यो योजना लागू हुने तिनले बताइन्। हाल पहाडमा तृणमूल कङ्ग्रेसको सङ्गठन दह्रिलो रहेको दाबी गर्दै पहाडमा क्षेत्रीय दलहरू छताछुल्ल भएपछि जनताको एक मात्र भरोसा राज्यको सत्ताधारी दल तृणमूल कङ्ग्रेस रहेको तिनले दावी गरिन्। आउँदो पहाडको चारैवटा नगरपालिका चुनाउमा तृणमूलले नै जित्ने लगभग निश्चित रहेको बताउँदै हाल पार्टीमा समर्थन जनाउनेहरू संख्यामा लगातार वृद्धि भइरहेको जानकारी गराइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *