पर्यटकहरूको लागि काश्मिरको डललेकमा झैँ गजलडोबामा पनि शिकारा नौकाविहार शुरू गरिने

राजगञ्ज: शिकारामा नौकाविहार गर्न चाहनेहरूलाई अब कश्मिर जानुपर्दैन, गजलडोबामै तपाइँले शिकाराको लुत्फ उठाउन सक्नेछ। काश्मिरको डललेकमा झैँ यता गजलडोबामा पनि शिकारा नौकाविहार शुरू गरिने भएको छ। पर्यटन मन्त्री बाबलु सुप्रियोले आज भोरेर आलोको युवा आवासमा पर्यटन, वन सिँचाई विभाग लगायत जिल्ला प्रशासनहरूसित भोरेर आलोलाई लिएर समीक्षा बैठक गरे। उक्त बैठकपछि तिनले गजलडोबामा शिकारा नौकाविहार शुरू गरिने बताए। यसको साथै तिनले पर्यटकहरूको आवश्यकतालाई ध्यानमा राखेर अझ केही योजनाहरूबारे बैठकमा चर्चा-परिचर्चा गरिएको बताइएको छ। पर्यटन मन्त्री बाबलु सुप्रियोले भने, पर्यटन मन्त्रीको पदभार सम्हालेपछि उत्तर बङ्गालमा यो प्रथम परिभ्रमण हो। मुख्यमन्त्रीको सपनाको पर्यटन हब भोरेर आलोलाई पूर्ण रूपमा सजाउनको लागि के-के योजना बनाइएको छ अनि तीमध्ये कुन-कुन कार्य थाँतीमा रहेको साथै ती कार्यहरू किन थाँतीमा रहेको छ भन्ने विषयमा सम्बन्धित विभागका अधिकारीहरूसित तिनले कुराकानी गरे। यसको साथै पर्यटकहरूको आवश्यकतालाई ध्यानमा राखेर अझ केही परियोजनाहरू गर्न सकिन्छ अथवा सकिँदैन भन्ने विषयमा पनि बैठकमा चर्चा परिचर्चा गरियो। मुख्यमन्त्रीको अनुप्रेरणामा केही शिकारा नौकाविहार शुरू गर्ने पहल गरिएको छ। शिकारालाई कश्मिरको डल झीलको भन्दा पनि आकर्षक बनाएर देशमा सर्वश्रेष्ठ बनाउने योजना रहेको छ। आजको बैठकमा पर्यटन विभागका म्यानेजिङ डाइरेक्टर, जलपाईगढी जिल्लाशासक मौमिता गोदारा बसु, राजगञ्जका विधायक खगेश्वर राय, बीडीओ पंकज कोनार, पर्यटन विभागका ओएसडी एनसी शेर्पा लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *